रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक चाहिँदैन

news-details

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दै भोटेकोशी बाढी पीडितहरूको पक्षमा आफूलाई प्रस्तुत गरेका छन्।

रविले गत भदौ १० गते बुधबार भोटेकोशीमा आएको बाढीबारेमा सम्बोधनका क्रममा पीडितहरूको पीडामा नुनचुक छर्किनेहरूप्रति खबरदारी गरे।

रविले सम्बोधनका क्रममा भोटेकोशीमा बाढी नभई जलवायु परिवर्तनबाट उत्पन्न ठूलो अन्याय भएको बताए। उनले भोटेकोशीमा मारिएकाहरूले जलवायु परिवर्तनको अन्यायपूर्ण बलिदानी गर्न बाध्य भएको पनि बताए।

उनले यति ठूलो संकट र क्षति व्यहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकले एकअर्कालाई समातेर उठ्न खोजिरहेको पनि बताएका छन्।

उनले विपद्मा परेर शोकमा डुबेकाहरूमाथि सामाजिक सञ्जालबाट खनिने अन्धसमर्थकहरू आफूलाई नचाहिने पनि बताएका छन् ।

‘भोटेकोशी बाढीको विपद्मा शोकमा परेकाहरूमाथि साइबर बुलिङ गर्ने, शोकमा परेकाहरूमाथि प्रहार गर्ने अन्धसमर्थक हामीलाई चाहिँदैन । हामीलाई त उनीहरूको आँसु पुछ्ने मान्छे चाहिएको छ’, उनले भने, ‘पीडामा परेका नागरिकको चीत्कारमा आँसुको व्यापार गर्ने मानिस रास्वपालाई चाहिएको छैन । रास्वपाका नेता(कार्यकर्ताहरूले पीडितहरूबारे तुच्छ टिप्पणी र साइबर बुलिङ गरेको पाइएमा कारबाही हुन्छ। यसरी टिप्पणी गर्ने जोकोहीलाई हामी पार्टीको साधारण सदस्यबाट पनि निकाल्छौँ।’

उनले विपद्मा परेका नागरिकहरूको बेइज्जत गर्ने र पीडामा नुनचुक छर्किनेहरू रास्वपालाई नचाहिने पनि बताए ।

‘त्यस्ता पीडकहरू हामीलाई चाहिँदैन । पीडितहरू सरकारसँगै हो आश गरेर गुनासो गर्ने। उनीहरूको गुनासोलाई लिएर साइबर बुलिङ गर्नेहरू हाम्रा कार्यकर्ता हुन सक्दैनन्’, उनले भने, ‘विपद्ले कुनै दलको नेता/कार्यकर्ता भनेर हान्दैन, यो वा त्यो भन्दैन। त्यसैले बाढी पीडितलाई अपमान गर्ने जोकोही हामीलाई चाहिँदैनन्।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया