विपद्मा अमेरिका नेपालको साथमा : रवि लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

news-details

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच भोटेकोशी बाढीबाट उत्पन्न विपद्का विषयमा टेलिफोन वार्ता भएको छ।

अमेरिकी विदेशमन्त्री रुबियोले लामिछानेलाई टेलिफोन गर्दै भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले विपद्को यस कठिन घडीमा नेपाली जनता र नेपाल सरकारप्रति अमेरिकाको ऐक्यबद्धता रहेको बताएका छन्।

वार्ताका क्रममा सभापति लामिछानेले नेपाल सरकारले खोजी, उद्धार तथा राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराए। उनले विपद्मा नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिकको सुरक्षा र संरक्षणप्रति पनि सरकार समान रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे।

लामिछानेले विपद्का बेला नेपाललाई सहयोग गरेकोमा अमेरिकी सरकारप्रति आभार व्यक्त गरेका छन्। उनले कठिन परिस्थितिमा अमेरिकाले देखाएको सहयोग र ऐक्यबद्धताको प्रशंसा गर्दै थप सहयोगका लागि समेत धन्यवाद दिएका छन्।

जवाफमा अमेरिकी विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई आवश्यक थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका छन्।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भइरहेका बेला भएको यो उच्चस्तरीय टेलिफोन संवादलाई नेपाल–अमेरिका सहकार्य र विपद् व्यवस्थापनमा अमेरिकी सहयोगको निरन्तरताका रूपमा हेरिएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया