भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा राहत तीव्र बनाउन र कालोबजारी रोक्न उपभोक्ता मञ्चको माग

news-details

काठमाडौं । अविरल वर्षा र उत्तरी सीमा क्षेत्रबाट भोटेकोशी नदीमा अचानक आएको भीषण बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवनलगायत आसपासका क्षेत्रमा भएको जनधन र भौतिक पूर्वाधारको क्षतिप्रति उपभोक्ता मञ्च नेपालले दुःख व्यक्त गरेको छ।

मञ्चले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै विपत्तिमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढी तथा पहिरोमा परी घाइते र सम्पर्कविहीन नागरिकको शीघ्र स्वास्थ्य लाभ तथा सकुशल उद्धारको कामना गरेको छ।

राष्ट्रिय विपत्तिको संकटपूर्ण घडीमा सम्पूर्ण नेपाली एकजुट भएर उद्धार, राहत तथा पुनःस्थापनाका काममा जुट्नुपर्ने मञ्चको भनाइ छ। प्रभावित क्षेत्रमा तीव्र उद्धार तथा राहतका लागि नागरिक, निजी क्षेत्र, समाजसेवी र विभिन्न संघसंस्थालाई आफ्नो ठाउँबाट सक्दो सहयोग, समन्वय र सहकार्य गर्न मञ्चले आग्रह गरेको छ।

नेपाल उपभोक्ता मञ्चले विपत्तिको संवेदनशील अवस्थाको फाइदा उठाउँदै बजारमा खाद्यान्न, औषधि, खानेपानी, इन्धन तथा अन्य अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, नापतौलमा ठगी गर्ने र मनपरी मूल्यवृद्धि गर्ने कार्य नगर्न उद्योगी, व्यापारी तथा व्यवसायीलाई अपिल गरेको छ।

मञ्चले संकटको समयमा नाफाभन्दा माथि उठेर मानवीय धर्म निर्वाह गर्नु र उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्नु सबैको सामाजिक उत्तरदायित्व भएको जनाएको छ।

बाढी तथा पहिरो प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा अत्यावश्यक वस्तुको सहज र निर्बाध आपूर्ति व्यवस्था मिलाउन, बजारमा हुन सक्ने अनुचित व्यापारिक गतिविधिमाथि कडा र निरन्तर अनुगमन गर्न तथा राहत सामग्रीको पारदर्शी र न्यायोचित वितरण सुनिश्चित गर्न मञ्चले सम्बन्धित सरकारी निकाय, स्थानीय प्रशासन तथा नियामक निकायसँग जोडदार माग गरेको छ।

मञ्चका राष्ट्रिय प्रवक्ता उज्वल राज गौतमले सबै नागरिकलाई धैर्य र एकताका साथ राष्ट्रिय विपत्तिको सामना गर्न आग्रह गरेका छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया