रसुवा बाढी अपडेट : १२ जनाको उद्धार, उपचार र राहतका लागि उच्च सतर्कता
- भदौ १०, २०८३
- 0
काठमाडौं । रसुवामा आज बिहान भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाइएको छ। हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत विभिन्न स्थानबाट १२ जनाको उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना रहेका छन्। प्रभावित क्षेत्रमा थप उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरसमेत परिचालन गरिएको छ।
बाढीबाट घाइते भएकाहरूको उपचारका लागि काठमाडौंस्थित विभिन्न अस्पताल, रक्तसञ्चार केन्द्र तथा बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयसँग आवश्यक समन्वय भइरहेको छ। वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचारका लागि १०० शय्या छुट्याइएको छ।
प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन ट्रमा सेन्टरबाट ६ जना चिकित्सक र २ जना नर्स प्रभावित क्षेत्रतर्फ प्रस्थान गरिसकेका छन्। नेपाल स्काउटबाट पाँच जना चिकित्सक र नौ जना उद्धारकर्मी पनि प्रभावित क्षेत्रमा जाने तयारीमा रहेका छन्।
स्वास्थ्य सेवा विभागले घाइतेको उपचारका लागि आवश्यक औषधि प्रभावित क्षेत्रमा पठाउने तयारी गरिरहेको जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनले पनि एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा २४ वर्ग फिटका १५ वटा टेन्ट प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको छ।
प्रभावित नागरिकका लागि खाद्यान्न व्यवस्थापन गर्न काठमाडौं, नुवाकोट र धादिङका खाद्यान्न व्यवस्थापन केन्द्रलाई तयारी अवस्थामा राखिएको छ। सञ्चार सम्पर्क सहज बनाउन नेपाल टेलिकम र एनसेलले प्रभावित क्षेत्रका नागरिकका लागि निःशुल्क डाटा, भ्वाइस र एसएमएस सेवा उपलब्ध गराएका छन्।
आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वयका लागि १११५ नम्बरमा सम्पर्क गर्न सकिने सम्बन्धित निकायले जनाएको छ।










