कोशीमा एमाले र नेकपाबीच भागबण्डा मिल्यो, एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय राख्ने
- साउन २९, २०८३
- 0
विराटनगर । कोशी प्रदेशमा सत्तारूढ नेकपा (एमाले) र सरकारमा सहभागी हुन लागेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच मन्त्रालय बाँडफाँटको विषयमा सहमति जुटेको छ। सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय तथा नेकपाले चार मन्त्रालय सम्हाल्ने भएका छन्।
मन्त्रालयको भागबन्डा टुंगिएसँगै प्रदेश सरकार पुनर्गठनको तयारी अघि बढेको छ। सोमबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरूको शपथ गराउने गरी तयारी भइरहेको नेताहरूले बताएका छन्।
मन्त्रालय बाँडफाँटको विषयमा एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबीच शीर्ष नेतासहित भएको छलफलबाट सहमति बनेको हो।
यद्यपि, कुन दलले कुन–कुन मन्त्रालय पाउने भन्ने औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन। नेकपा नेता आङ्बोले मन्त्रालयको संख्या टुंगिए पनि मन्त्रालयगत जिम्मेवारीबारे अझै सहमति गर्न बाँकी रहेको बताएका छन्। सहमति कार्यान्वयन भएमा एमालेले मुख्यमन्त्रीसँगै अर्थ तथा आन्तरिक मामिला मन्त्रालय पनि आफूसँगै राख्ने तयारी गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय भने नेकपाको भागमा पर्ने नेताहरूले बताएका छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफ्नो नेतृत्वमै राख्न मुख्यमन्त्री कार्कीले अडान राख्दै आएका थिए। मन्त्रालयको जिम्मेवारीबारे तत्काल विवाद नहोस् भन्ने उद्देश्यले विस्तृत विवरण पछि मात्रै सार्वजनिक गर्ने समझदारी भएको स्रोतको भनाइ छ।










