युवामाथि ताकीताकी गोली हानिएको भन्दै सांसद थापा आक्रोशित

news-details

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोलीबाट एक युवकको मृत्यु भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद लालविक्रम थापाले प्रहरीले “अबोध युवामाथि ताकीताकी गोली हानेको” आरोप लगाएका छन् । उनले घटनास्थलमै पुगेर आक्रोश पोखेका छन् ।

सांसद थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा प्रहरीले कसैको छाती र कसैको पेटमा गोली लागेको दाबी गर्दै भनेका छन्, “समन्वय गरेको भए गोली चलाउनुपर्ने अवस्था नै आउने थिएन ।” उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

गएराति भएको घटनामा गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एक समूह डीजे बजाएर नाचिरहेका बेला अर्को समूहसँग विवाद भएपछि झडप भएको थियो । झडप उग्र बनेपछि अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको दाबी गरेको छ ।

घटनामा गोली लागेर आठ जना घाइते भएका छन् भने झडपका क्रममा तीन जना प्रहरी पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि सुरक्षा निकायले बल प्रयोग गरेको तरिका, गोली चलाउनु आवश्यक थियो वा थिएन भन्ने विषयमा बहस सुरु भएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया