योगमाया विश्वविद्यालयबारे उठेका प्रश्नको अध्ययन गर्न समिति गठन
- असार १२, २०८३
- 0
लामो समयपछि हिजो बसेको विदुषी योगमाया हिमालयन आयुर्वेदिक विश्वबिद्यालयको परिषदको चौथो बैठक बिना निश्कर्ष टुंगिएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा परिषदका सदस्य तुलसीप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठक छलफलमा मात्र सिमित भएको थियो ।
बैठकमा पछिल्लो समय विश्वविद्यालयको बारेमा बढेका गुनासा र जनताका प्रश्नले स्थान पाएको थियो । बैठकमा विश्वविद्यालयका हालसम्म भएका गतिबिधिको बारेमा गम्भिर रुपमा छलफल गरीएको थियो । छलफल निश्कर्षमा पुग्न नसकेपछि विश्वविद्यालय सम्बन्धमा कतिपय नमिलेका र बाझिएका कुराहरु, बेथितिको बारेमा र विश्वविद्यालयको यथार्थ अध्ययन गर्न आयुर्वेद विभागका डिजीको नेतृत्वमा ३ सदस्यीय समिति बनाईएको छ ।
समितिले स्थलगत रुपमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको अध्ययन, अवलोकन गरी प्रतिवेदन बुझाउने बताइएको छ । समितिले यहि २९ गते पुनः बस्ने पाँचौ परिषद बैठकमा प्रतिवेदन पेश गर्ने छ । परिषदलाई पूर्णता दिने सम्बन्धमा छलफल भएपनि टुंगोमा पुग्न नसक्दा अन्योल बढेको छ । सहभागिहरुले पाँचौ बैठकमा पूर्णता दिने बताएका छन् ।
वैठकमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय परिषदका सदस्यहरुः, संखुवासभाका सांसद डा. अर्जुन कार्की, शिक्षा मन्त्रालयका सचिव चुडामणी पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल,स्वास्थ्य मन्त्रालयका सचिव डा. विकाश देवकोटा, वनस्पति विभागका महार्निदेशक डा. संजिव कुमार राई, आयुर्वेद विभागका महानिदेशक डा.वाशुदेव उपाध्याय, कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव उद्धवप्रसाद रिजाल, आमन्त्रित सदस्यहरुमाः शिक्षा मन्त्रालयका सहसचिव चन्द्रकान्त भुषाल, शिक्षा मन्त्रालयका उपसचिव द्वय मघुप्रसाद घिमिरे र गोपीकृष्ण रेग्मीको सहभागिता थियो । संखुवासभा शिक्षा तथा समन्वय एकाई प्रमुख गोपालमान भण्डारी, शाखा अधिकृत विशाल पौडेललगायतको पनि परिषद बैठकमा सहभागिता थियो ।
बैठकमा परिषदका सदस्यहरुले बिश्वविद्यालयको बारेमा आ–आफ्नो धारणा राखेका थिए । विश्वविद्यालयले गति लिन नसकेको, उदेश्य अनुसार काम हुन नसकेको र विश्वविद्यालयलाई टिकाउन मुस्किल परेको धारणा राखिएको थियो ।
पाठ्यक्रमको अन्योलता, बिद्यार्थीको भविश्य र विश्वबाट यो विश्वविद्यालयमा अध्ययन र अनुसंधानमा विद्यार्थी आउने वातावरण कसरी निर्माण गर्न सकीन्छ भन्ने विषयमा पनि परिसद सदस्यहरुले चिन्ता व्यक्त गरेका थिए । उनीहरुले पूर्वाधार र पर्याप्त रुपमा अध्ययन र तयारी नगरी कक्षा सञ्चालन गर्दा झन अन्योल बढेकोमा जोड दिएका थिए ।
त्यसैगरी कर्मचारी भर्नामा मनपरि भएको, बजेट फ्रिज भएको, जग्गा विश्वविद्यालयको नाममा भएपनि प्रयोग हुन नसकेकोलगायतका बिषयमा छलफल उठाइएको थियो । बैठककले यहि २९ गते सोमबार पुनः बैठकबसी निश्कर्षमा पुग्ने निर्णय गरेको छ ।










