युरोप रोजगार व्यवस्थापन र डिजिटल रूपान्तरणको एजेण्डासहित सचिवमा नवराज लुइटेलको उम्मेदवारी

news-details

काठमाडौं, जेठ — नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहका तर्फबाट सचिव पदका उम्मेदवार नवराज लुइटेलले युरोप रोजगार क्षेत्रको व्यवस्थित व्यवस्थापन तथा आधिकारिक डिजिटल एप प्लेटफर्म निर्माणलाई आफ्नो प्रमुख एजेण्डा बनाएका छन् ।

ओमेगा इन्टरनेशनल प्रालिका सञ्चालकसमेत रहेका लुइटेलले हरिबहादुर पाण्डे क्षेत्री नेतृत्वको स्वतन्त्र समूहबाट सचिव पदमा उम्मेदवारी दिएका हुन् । करिब दुई दशकदेखि वैदेशिक रोजगार क्षेत्रमा सक्रिय लुइटेलले व्यवसायीहरूको हकहित संरक्षण, संस्थागत सुदृढीकरण तथा व्यवसायलाई आधुनिक र प्रविधिमैत्री बनाउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताएका छन् ।

उम्मेदवारी घोषणा गर्दै लुइटेलले भने ‘वैदेशिक रोजगार क्षेत्र हाल युरोप रोजगार व्यवस्थापन, कानुनी जटिलता, नीतिगत अस्पष्टता तथा व्यवसाय सञ्चालनसँग सम्बन्धित विभिन्न चुनौतीबाट प्रभावित छ, ती समस्याको समाधानका लागि सक्षम, इमानदार र परिणाममुखी नेतृत्व आवश्यक छ, त्यही महसुस गरेर सचिव पदका लागि अघि सरेको हुँ ।’

लुइटेलले नेपाल सरकारले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी गरिरहेको सन्दर्भमा सम्पूर्ण व्यवसायीहरूको आवश्यकता समेट्ने आधिकारिक वैदेशिक रोजगार डिजिटल एप प्लेटफर्म निर्माणका लागि विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पूर्व अध्यक्ष रोहन गुरुङले देखेको डिजिटल रूपान्तरणको अवधारणालाई मूर्तरूप दिन व्यवसायी, सरोकारवाला निकाय तथा सूचना प्रविधि विज्ञहरूसँग सहकार्य गर्दै प्रभावकारी प्रणाली विकासमा लाग्ने उनले बताए ।

उनले युरोप लगायत नयाँ श्रम गन्तव्य मुलुकहरूमा कानुनसम्मत, सुरक्षित र सहज व्यवसायिक वातावरण निर्माण, व्यवसायीका हकहितको संरक्षण तथा सरकार र वैदेशिक रोजगार विभागसँग प्रभावकारी समन्वय कायम गर्न विशेष जोड दिने बताएका छन् ।

लुइटेलले भने ‘म निर्वाचित भए भने आगामी दुई वर्षे कार्यकाल व्यवसायीहरूको अधिकार संरक्षण, व्यवसायको दिगोपन तथा संघको संस्थागत सुदृढीकरणमा केन्द्रित हुनेछु ।’

इमानदारी, पारदर्शिता र उत्तरदायित्वलाई कार्यशैलीको आधार बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सफल व्यवसायी, सुरक्षित वैदेशिक रोजगार, सम्मानित श्रमिक र उज्ज्वल भविष्य निर्माण नै सबैको साझा लक्ष्य भएको उल्लेख गरे ।

उनले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, प्रविधिमैत्री र व्यवसायीमैत्री बनाउन परिवर्तन, व्यवस्थापन र डिजिटल रूपान्तरणको यात्रामा साथ दिन व्यवसायीहरूसँग आग्रह गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया