फेक न्यूजको सिकार बने सांसद खरेल, आरोपको कडा खण्डन

news-details

काठमाडौं । सांसद जगदीश खरेल आफू फेक न्यूजको सिकार बनेको बताएका छन्। एक अनलाइन माध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै उनले उक्त सामग्री अविश्वसनीय स्रोतमा आधारित र अपरिपक्व रिपोर्टिङ भएको आरोप लगाएका छन्।

प्रकाशित समाचारका विषयमा स्पष्ट पार्दै खरेलले दुई महत्वपूर्ण पक्षमा आफ्नो धारणा राखेका छन्। पहिलो, रातो पासपोर्टसम्बन्धी समाचारलाई उनले पूर्णतः गलत ठहर गरेका छन्। आफूले साधारण पासपोर्टमार्फत भिसा आवेदन गरी सभामुखसँग बिदा माग्न गएको उल्लेख गर्दै उनले “रातो पासपोर्ट माग्न गएको भन्ने कुरा भ्रामक र असत्य हो” भने।

त्यस्तै, दक्षिण कोरिया भ्रमणका क्रममा सतिशलाल आचार्यसँग भेट भएको भन्ने दाबीलाई पनि उनले अस्वीकार गरेका छन्। मन्त्रीको हैसियतमा ११औँ ग्लोबल लिडरसिप फोरममा सहभागी हुन गएको बेला यस्तो कुनै भेट नभएको उनले स्पष्ट पारेका छन् । “उक्त दाबी सत प्रतिशत झुट र कपोलकल्पित हो,” उनले भने।

खरेलले पत्रकारितामा तथ्य र प्रमाणको आधार अनिवार्य हुने उल्लेख गर्दै गैरजिम्मेवार र सनसनीपूर्ण सामग्रीले व्यक्तिको प्रतिष्ठामा गम्भीर असर पार्ने बताए । साथै, यस्ता समाचारप्रति सचेत रहन आम नागरिकलाई आग्रह गर्दै उनले भने, “कोही पनि भ्रममा नपरोस्, सत्य ढिलोचाँडो बाहिर आउँछ।”

अन्त्यमा उनले कडा सन्देश दिँदै भने, “चुप रहनु, सुन्नु र सहनु भनेको स्विकार्नु होइन।”

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया