युरोकिड्स गोठाटारको वार्षिकोत्सव तथा पहिलो दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न
- रोजगारमञ्च
- चैत्र १५, २०८२
- 0
काठमाडौँ । काठमाडौँको गोठाटारस्थित युरोकिड्स गोठाटारले आफ्नो वार्षिकोत्सव तथा पहिलो दीक्षान्त समारोह शनिबार अत्यन्त भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। कार्यक्रममा विद्यालयका संस्थापक तथा अध्यक्ष नवराज काफ्लेको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिको रूपमा चर्चित हास्य कलाकार मनोज गजुरेलको उपस्थिति रहेको थियो।

त्यस्तै, कार्यक्रममा विशेष अतिथिका रूपमा रोशनी आचार्य उपस्थित थिइन् भने अतिथिहरूमा विष्णु जमकट्टेल, विद्यालयका प्रबन्ध निर्देशक हेमन्त गौतम, प्रिन्सिपल सम्झना गिरी, लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। साथै कार्यक्रममा विद्यार्थीका अभिभावक तथा हजुरबा–हजुरआमाहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य दिँदै अध्यक्ष काफ्लेले बालबालिकाको प्रारम्भिक शिक्षालाई जीवनको सबैभन्दा महत्वपूर्ण आधारका रूपमा उल्लेख गरे। उनले विद्यालयले बालबालिकामा ज्ञान, संस्कार र आत्मविश्वास विकास गर्ने उद्देश्यका साथ काम गरिरहेको बताए। स्वागत मन्तव्यमा उनले भने, “बालबालिका राष्ट्रका भविष्य हुन्। उनीहरूलाई माया, प्रेरणा र सही मार्गदर्शनसहित शिक्षित बनाउन सके मात्रै भोलिको समाज सक्षम र समृद्ध बन्न सक्छ। युरोकिड्स गोठाटारले बालबालिकामा सिकाइप्रतिको रुचि, अनुशासन र सिर्जनशीलता विकास गर्न निरन्तर प्रयास गरिरहेको छ।”

समारोहका क्रममा साना विद्यार्थीहरूले प्रस्तुत गरेका गीत, नृत्य, योग प्रदर्शन, कराते, कविता वाचन जस्ता विविध सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रमहरू कार्यक्रमका मुख्य आकर्षण बनेका थिए। बालबालिकाको आत्मविश्वास, प्रतिभा र सिर्जनशीलता झल्किने यी प्रस्तुतीहरूले उपस्थित अभिभावक तथा अतिथिहरूलाई निकै प्रभावित बनाएका थिए।

कार्यक्रमका प्रमुख अतिथि मनोज गजुरेलले कार्यक्रममा बोल्दै बालबालिकाको प्रतिभा र प्रस्तुतीको प्रशंसा गर्दै प्रारम्भिक शिक्षाको महत्वबारे जोड दिए। उनले विद्यालय व्यवस्थापन, शिक्षक र अभिभावकको संयुक्त प्रयासबाट मात्र बालबालिकाको उज्ज्वल भविष्य निर्माण सम्भव हुने उल्लेख गर्दै भने, “बालबालिकामा आत्मविश्वास र सिर्जनशीलता विकास गर्नु नै आजको शिक्षाको सबैभन्दा ठूलो सफलता हो। यस्ता कार्यक्रमहरूले बालबालिकाको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्छन्।”

कार्यक्रममा यस वर्ष अध्ययन पूरा गरेका साना विद्यार्थीहरूको दीक्षान्त समारोह पनि आयोजना गरिएको थियो, जसले कार्यक्रमलाई अझै भावनात्मक र विशेष बनाएको थियो।

युरोकिड्स गोठाटारले प्ले–ग्रुपदेखि यूकेजीसम्मका बालबालिकालाई आधुनिक शिक्षण पद्धति, बालमैत्री वातावरण र अनुभवी शिक्षकहरूको माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयले बालबालिकामा ज्ञानसँगै अनुशासन, सिर्जनशीलता र आत्मविश्वास विकास गर्ने लक्ष्यसहित आफ्नो शैक्षिक यात्रा अगाडि बढाइरहेको विद्यालय व्यवस्थापनले जनाएको छ।














