‘प्रधानमन्त्रीको रथका सारथी तपाईं नै हुनुहुन्थ्यो’-सांसद जगदीश खरेललाई शुभेच्छुकको खुल्लापत्र

news-details

‘प्रधानमन्त्रीको रथका सारथी तपाईं नै हुनुहुन्थ्यो’—सांसद जगदीश खरेललाई सुभेच्छुकको खुल्लापत्र

काठमाडौँ । ललितपुर क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जगदीश खरेललाई एक सुभेच्छुकले भावुक शैलीमा खुल्लापत्र लेख्दै बधाई, धन्यवाद र आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका छन्।

खुल्लापत्रमा फागुन २१, २०८२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गराउन खरेलले तत्कालीन सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ताका रूपमा निर्वाह गरेको भूमिकाप्रति उच्च सम्मान व्यक्त गरिएको छ।

सुभेच्छुकले पत्रमा उल्लेख गरेका छन् कि चुनाव बहिष्कार गरिरहेका र ‘जेनजी’ आन्दोलनपछि बनेको सरकारप्रति असन्तुष्ट रहेका विभिन्न पक्षलाई समेत संवाद र समन्वयमार्फत निर्वाचन प्रक्रियामा सहभागी गराउन खरेलले दिनरात खटेर महत्वपूर्ण भूमिका खेलेका थिए। “सम्माननीय प्रधानमन्त्री सुशीला कार्की जुन रथमा चढेर देशलाई निर्वाचनतर्फ डोर्याउँदै हुनुहुन्थ्यो, त्यसको सारथी तपाईं नै हुनुहुन्थ्यो,” पत्रमा भावुक रूपमा उल्लेख गरिएको छ।

मन्त्री पदको आकर्षणमा अल्झिनुभन्दा जनमतको बाटो रोज्दै खरेलले स्वयं निर्वाचनमा होमिने निर्णय गरेको प्रसंगलाई पनि पत्रमा विशेष रूपमा स्मरण गरिएको छ। ललितपुर–२ जस्तो नेवा समुदायको बाहुल्यता रहेको क्षेत्रमा गैर–नेवा उम्मेदवारका रूपमा विजयी हुनु र करिब ६५ प्रतिशत मत प्राप्त गर्नु जनताले उनको योगदानलाई दिएको सम्मानको प्रतीक भएको खुल्लापत्रमा उल्लेख छ।

साथै मन्त्री रहँदा मन्त्रालयको कामकारबाहीलाई चुस्त बनाउँदै सुशासनको उदाहरण प्रस्तुत गरेको भन्दै खरेलको अथाह मेहनत र दृढ संकल्पको प्रशंसा गरिएको छ।

खुल्लापत्रमार्फत सुभेच्छुकले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा खरेललाई हार्दिक बधाई दिँदै आगामी दिनमा राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर भ्रष्टाचाररहित, सुशासित र समृद्ध समाज निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

पत्रको अन्त्यमा सम्पदा तथा संस्कृति संरक्षण, ‘जेनजी’ आन्दोलनका मागहरूको सम्बोधन, विकास निर्माण र प्रभावकारी नीति निर्माणमार्फत जनभावनाअनुसार काम गर्न आग्रह गरिएको छ। साथै सांसद खरेलले आगामी दिनमा सबैले देख्ने, सुन्ने र गर्व गर्न सक्ने गरी जनताको विश्वासलाई कर्ममार्फत अझ बलियो बनाउने अपेक्षा व्यक्त गरिएको छ।

हेर्नुहोस पत्र जस्ताको तस्तै

आदरणीय जगदिश खरेल दाइ,

2082 फाल्गुन 21 मा जुन चुनाव धाँधली रहित र निष्पक्ष ढङ्गले सुसम्पन्न भयो, त्यही चुनाव गराउने जिम्मा बोकेर सम्माननीय प्रधानमन्त्री सुशीला कार्की ज्यूको नेतृत्वको सरकारको सञ्चार तथा सुचना प्रविधि मन्त्री र सरकारको प्रवक्ताको रूपमा यहाँले निर्वाह गर्नुभएको भूमिका प्रति उच्च सम्मान छ। चुनाव बहिष्कार गरिरहेका अनि जेनजी आन्दोलन पश्चात गठित सरकार प्रति रुष्ट पक्षलाइ यहाँले अहोरात्र खटेर सबै राजनैतिक दल र अन्य पक्षलाइ चुनावको लागि मनाउन सफल हुनुभएको कुरालाइ जनताले उच्च मुल्यांकन गर्ने नै छन्। म घमण्डका साथ यो भन्न सक्छु कि चुनाव सफल गराउन सम्माननीय प्रधानमन्त्री ज्यू जुन रथमा चढ्नु भएको थियो, त्यसको सारथी हजुर हुनुहुन्थ्यो। चुनाव सुनिश्चित गराएर, देशलाइ नै चुनावमय वातवरणमा लग्न सफल हुनुभएपछि जेनजी र जनताको माग बमोजिम यहाँले निर्वाचनमा जाने निर्णय गरि ललितपुर क्षेत्र नं २ बाट आफ्नो उम्मेदवारी दिनुभयो। मन्त्रीपदको लोभ नगरी जनमत रोज्ने यहाँको निर्णय प्रति भित्री हृदय देखि नमन गर्न चाहन्छु।

अनि यहाँको महत्वपूर्ण योगदानले गर्दा सुसम्पन्न भएको चुनावमा, यहाँको भूमिकाको जनताले उच्च मुल्यांकन गरेको कुरा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यहाँले प्राप्त गर्नुभएको सदर मतको ६५% मत अनि इतिहासमै पहिलोपटक नेवा बाहुल्यता रहेको ललितपुर २ नं क्षेत्रमा गैर नेवा उम्मेदवारको रूपमा यहाँ विजयी हुनुभएको कुराले प्रमाणित गर्छ नै। चुनाव गराउने जिम्मेवारी सँगै मन्त्रालयको कामकारबाही पनि यहाँ मन्त्री हुँदा चुस्त दुरुस्त ढङ्गले निर्वाह गर्दै सुशासनको नमुना पेश गर्न सफल हुनुभएको कुरा सर्वविदितै छ।

सर्वप्रथम त यहाँको अथाह मेहनेत र दृढ सङकल्पले गर्दा चुनाव सम्पन्न भएकोमा विशेष धन्यवाद अनि हार्दिक बधाइ। साथै ललितपुर क्षेत्र नं २ बाट अत्याधिक बहुमत ल्याएर प्रतिनिधि सभामा निर्वाचित हुनुभएकोमा धेरै धेरै बधाइ ज्ञापन गर्न चाहन्छु।

म विश्वस्त छु कि यहाँले राष्ट्र र जनहितलाइ विशेष प्राथमिकतामा राखेर भ्रष्टाचार रहित, सुशासित, समृद्ध समाज निर्माणमा अतुलनीय योगदान पुर्याउनु हुनेछ।
अन्त्यमा- सम्पदा-संस्कृति संरक्षण र प्रवर्द्धन, जेनजी आन्दोलनका मागहरूको सुनुवाई, विकास निर्माणका कामहरू र निति निर्माणमा यहाँले जन भावना अनुरूप आगामी दिनमा सबैले देख्ने, सुन्ने र यहाँको योगदानको उच्च मुल्यांकन गर्न सक्ने गरि कार्य सम्पादन गर्न सफल हुनुहोस् भन्ने विशेष शुभकामना दिन चाहन्छु।

तपाईंको सुभेच्छुक तथा समर्थक

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया