ललितपुर–२ मा जगदीश खरेलको पक्षमा बढ्दो माहोल, परिवर्तनको लहर एकै केन्द्रमा

news-details

ललितपुर–२ को पाटनमा घरदैलो अभियानका क्रममा ८१ वर्षे रामभक्त खडगीको आवाजले सबैलाई केही क्षण मौन बनायो। जीवनभर नेकपा एमाले लाई भोट दिएका उनले यसपटक भने मन बदलिएको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तासामु उनले भावुक हुँदै भने, “जिन्दगीभर एउटै पार्टीलाई भोट हालेँ । अब उमेरले अर्को पटक भोट हाल्न पाइएला–नपाइएला थाहा छैन। तर यसपाली परिवर्तनका लागि भए पनि घण्टीमै छाप हाल्ने हो।” काँपिरहेको उनको हातमा अनुभवको भारी थियो, तर आँखामा अझै पनि परिवर्तनको आशा चम्किरहेको थियो। खडकीजस्तै घरदैलो, सडकपेटी तथा हिटीमा भेटिएका उक्त क्षेत्रका धेरै वृद्धबृद्धाहरुले आफुहरु यस पटक परिवर्तनको पक्षमा रहेको बताए ।

ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा यसपटकको चुनावी माहोल स्पष्ट रुपमा परिवर्तनको पक्षमा देखिएको छ। मतदातामा पुराना दलप्रतिको निराशा र नयाँ नेतृत्वको खोजी मिसिँदा जगदीश खरेल बलिया दाबेदारका रूपमा उभिएका छन्।

ललितपुर–२ मा यसपटकको चुनावी प्रतिस्पर्धा केवल दलगत नभई एजेन्डा र विश्वासको आधारमा केन्द्रित देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति देखिएको समर्थन केवल पार्टीगत लहरमा सीमित नभई, स्थानीय मुद्दा बुझेको र उठाएको अनुहारको खोजीसँग जोडिएको छ। यही सन्दर्भमा खरेललाई परिवर्तनको विकल्पका रूपमा हेरिएको छ।

ललितपुरको पहिचान नेवा सभ्यता, गुठी परम्परा र सम्पदा संरक्षणसँग गाँसिएको छ। खरेलले आफ्नो घोषणापत्रमा यी विषयलाई प्राथमिकतामा राख्दै समुदायको चासो सम्बोधन गर्ने प्रयास गरेका छन्। नेवा समुदायभित्र ‘मुद्दा बुझ्ने प्रतिनिधि’ को खोजी चलिरहँदा खरेलको सक्रियता चर्चामा छ।

अघिल्लो निर्वाचनमा परिवर्तनको मत विभिन्न उम्मेदवारबीच विभाजित भएको थियो । विशेषगरी सुदिन शाक्य (८,८८६ मत) र बुद्धरत्न महर्जन(८,६६६ मत) ले प्राप्त गरेको मत यसपटक खरेलको पक्षमा केन्द्रित हुने आकलन गरिएको छ। शाक्यको औपचारिक समर्थनपछि परिवर्तनको मत ‘एकद्वार’ मा आउने विश्लेषण भइरहेको छ। उता पुराना राजनैतिक दलबाट बाक्क भएका तथा युवा पुस्ताको मत पनि परिवर्तनकै लहरमा जोडिने संकेतले खरेलको अवस्था मजबुद बन्दै गैरहेको छ ।

खरेलले खानेपानी, ढल व्यवस्थापन, ट्राफिक जाम, सम्पदा संरक्षणलगायत स्थानीय समस्यामा निरन्तर छलफल र भेटघाट गर्दै आएका छन्। करिब १७ हजार मतदातासँग प्रत्यक्ष सम्पर्क गरिसकेको दाबी गरिएको छ। स्थानीय क्लब, व्यवसायी तथा युवा समूहसँगको समन्वयले उनको ग्राउन्ड क्याम्पेन बलियो बनेको समर्थकहरूको भनाइ छ।

अघिल्लो सांसदले संसदमा क्षेत्रको मुद्दा प्रभावकारी रूपमा नउठाएको जनगुनासो पनि चुनावी बहसको विषय बनेको छ। यस्तो अवस्थामा खरेलको ‘सफा छवि’ र पारदर्शिताको प्रतिबद्धता मतदातामाझ आकर्षणको बिन्दु बनेको बताइन्छ।

खरेलले अघिल्लो कार्यकालमा सूचना तथा सञ्चार प्रविधि मन्त्रीका रूपमा काम गर्दा चुनौतीपूर्ण अवस्थामा निर्वाचन सम्पन्न गराउन भूमिका खेलेको दाबी गरिन्छ। जटिल परिस्थितिमा निर्णय लिन सक्ने क्षमताका कारण उनलाई व्यवस्थापन क्षमता भएका नेताका रूपमा प्रस्तुत गरिएको छ।

ललितपुर–२ मा अहिलेको बहस ‘कसले जित्ला ?’ भन्दा पनि ‘कति मतान्तरले जित्ला ?’ भन्ने दिशातर्फ मोडिएको समर्थकहरूको दाबी छ। पुराना दलहरू आन्तरिक असन्तुष्टि र प्रतिस्पर्धामा अल्झिरहेका बेला परिवर्तनको एजेन्डा, स्थानीय मुद्दामा सक्रियता र सांस्कृतिक संवेदनशीलतालाई केन्द्रमा राख्दै जगदीश खरेल ले बलियो उपस्थिति जनाएका छन्।

यद्यपि अन्तिम निर्णय मतदाताको मतबाट हुने भएकाले निर्वाचन परिणामले मात्र वास्तविक जनमतको चित्र स्पष्ट पार्नेछ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया