झापा ४ मा सुस्केराको ‘सङ्कल्प’: सुशासन र समृद्धिको नयाँ खाकासहित मैदानमा

news-details

झापा । चुनावी सरगर्मी बढ्दै जाँदा झापा निर्वाचन क्षेत्र नं. ४ मा यसपटक रोचक भिडन्त हुने देखिएको छ। विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बनेका शम्भु ढकाल ‘सुस्केरा’ले आफ्नो ‘वाचापत्र’ सार्वजनिक गरेपछि चुनावी माहोल थप तातेको छ।

नेपाल प्रहरीको सेवाबाट अवकाश प्राप्त सुस्केरा सुशासनका प्रखर वक्ता र स्पष्ट वैचारिक धार भएका नेताका रूपमा परिचित छन्। अघिल्लो निर्वाचनमा नेकपा एमालेका एलपी साँवा लिम्बुसँग पराजित भए पनि यसपटक बदलिँदो राजनीतिक परिस्थिति र मतदाताको चाहनाका कारण सुस्केराको पक्षमा जनलहर बलियो देखिएको छ।

स्थानीय विकासका मूर्त योजना: ‘स्थानीय बाचा’

सुस्केराले आफ्नो बाचापत्रमा स्थानीय समस्याहरूको सूक्ष्म पहिचान गर्दै समाधानका बुँदागत योजनाहरू अघि सारेका छन्। उनका प्रमुख स्थानीय एजेन्डाहरू यसप्रकार छन्:

जमिन र सुकुम्बासी समस्या: ऐलानी जग्गाको धनीपूर्जा वितरण र सुकुम्बासी समस्याको स्थायी समाधानलाई उनले पहिलो प्राथमिकतामा राखेका छन्।

कृषि र बजार व्यवस्थापन: चन्द्रगढी कृषि अनुसन्धान केन्द्रलाई पुनर्जीवित गरी कृषि कलेजका रूपमा विकास गर्ने र स्थानीय उत्पादनका लागि ‘भूमि बैंक’ स्थापना गर्ने उनको योजना छ।

पर्यटन र उद्योग: सतासीधाम, दोमुखा जस्ता क्षेत्रलाई योग र अध्यात्म पर्यटनको केन्द्र बनाउने तथा स्थानीय मदिरालाई ब्रान्डिङ गरी बजार व्यवस्थापन गर्ने जस्ता मौलिक एजेन्डाहरू उनले अघि सारेका छन्।

पूर्वाधार र सुरक्षा: हात्तीको आक्रमण रोक्न ठोस पहल गर्ने र अधुरा सडक तथा पुलका आयोजनाहरू समयमै सम्पन्न गर्ने प्रतिबद्धता उनले जनाएका छन्।

राष्ट्रिय सुधारको मार्गचित्र: ‘केन्द्रीय बाचा’

केन्द्रीय तहमा नीतिगत परिवर्तनका लागि सुस्केराले साहसिक र समयसापेक्ष मुद्दाहरू उठाएका छन्:

सुरक्षाकर्मीको हित: प्रहरी र सैनिक जवानहरूले १६ वर्ष सेवा गरेपछि पेन्सन पाउने व्यवस्था मिलाउने बाचा उनले गरेका छन्, जसले सुरक्षा निकायमा ठूलो उत्साह जगाएको छ।

भ्रष्टाचार र न्याय: भ्रष्टाचारी र बलात्कारीलाई आजीवन कारावासको सजाय र कुनै पनि हालतमा कैद मिनाहा नहुने कडा कानुनको वकालत उनले गरेका छन्।

शिक्षा र युवा स्वरोजगार: विद्यालयमा ‘हप्तामा एक दिन सीपमूलक शिक्षा’ र युवा उद्यमीलाई बिना धितो ऋण उपलब्ध गराउने नीति उनले अघि सारेका छन्।

राजनीतिक जवाफदेहिता: चुनावमा गरेका बाचाहरू पूरा नगर्ने जनप्रतिनिधि विरुद्ध मुद्दा चलाउन सकिने कानुनी व्यवस्थाको माग गरेर उनले आफ्नो इमानदारिता प्रदर्शन गरेका छन्।

“मेरो लक्ष्य सेवा, मेरो बाटो सत्य” भन्ने मूल नाराका साथ चुनावी मैदानमा होमिएका सुस्केराले मतदातालाई विश्वास दिलाएका छन् कि उनको विजय केवल एक व्यक्तिको जित नभई झापा ४ को रूपान्तरणको सुरुवात हुनेछ।

चुनौती र सम्भावना

यद्यपि, यो यात्रा सहज भने छैन। दुई पटक विजय हासिल गरिसकेका एमालेका एलपी साँवा लिम्बु चुनावी रणनीतिका चतुर खेलाडी मानिन्छन्। तर, स्थानीय मतदाताका अनुसार सुस्केराको स्वच्छ छवि र जनताको घरदैलोमा पुग्ने शैलीले यसपटक ‘घण्टी’को पक्षमा माहोल सिर्जना गरेको छ।

रास्वपा झापाका जिल्ला सचिव समेत रहेका सुस्केरा संसद्मा पुगेमा नीति निर्माण तहमा एउटा “दरिलो खम्बा” थपिनेमा यस क्षेत्रका नागरिकहरू विश्वस्त देखिन्छन्। फागुन २१ गते हुने मतदानले सुस्केराको यी बाचाहरूलाई कार्यान्वयनको दिशामा लैजाने कि नलैजाने भन्ने फैसला गर्नेछ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया