व्यक्तिभन्दा संस्था माथि राख्न रोविन शेरचनको आह्वान, एनआरएनए महाधिवेशन एकताको बन्नुपर्नेमा जोड
- फाल्गुन ५, २०८२
- 0
काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न महाधिवेशन नजिकिँदै जाँदा देखिएका विवाद र असमझदारीबीच वर्तमान उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार रोविन शेरचनले व्यक्तिभन्दा संस्थालाई माथि राख्दै बृहत् एकताका लागि अपिल गरेका छन्।
आगामी मार्च १४–१६ मा काठमाडौं मा हुने १२औँ महाधिवेशनको तयारी भइरहेका बेला निर्वाचन प्रणाली, डेलिगेट छनोट तथा प्राविधिक विषयमा देखिएका विवादले आफू चिन्तित बनेको उनले बताएका छन्।
अध्यक्ष पदका प्रत्यासी शेरचनले आफ्नो मुख्य प्राथमिकता “एकताबद्ध एनआरएनए” भएको उल्लेख गर्दै सहमति र संवादमार्फत सबै विवाद समाधान गर्नुपर्नेमा जोड दिएका छन्। निर्वाचन प्रणाली र प्रतिनिधि छनोटमा देखिएको असमझदारी हटाउन हठ त्यागेर साझा बिन्दु खोज्नुपर्ने उनको भनाइ छ।
उनले संस्थालाई नै सर्वोपरी मान्न आग्रह गर्दै व्यक्तिगत अडान र समूहगत स्वार्थभन्दा माथि उठेर प्रवासमा रहेका नेपालीको साझा संस्थालाई सुदृढ बनाउन सबैले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए।

त्यस्तै, विश्वभर रहेका सदस्यहरूले सहज रूपमा मतदान गर्न पाउने समावेशी निर्वाचन प्रणाली आवश्यक रहेको उनको धारणा छ। अनलाइन वा भौतिक दुवै माध्यमबाट मतदान सुनिश्चित गरिए निर्वाचन प्रक्रिया थप पारदर्शी र सर्वस्वीकार्य बन्ने उनको विश्वास छ।
प्रधानमन्त्रीको उपस्थितिमा भएको १० बुँदे सहमतिको मर्मलाई सम्मान गर्दै आगामी महाधिवेशनलाई विवादभन्दा एकताको महाधिवेशन बनाउन उनले सबै पक्षलाई आह्वान गरेका छन्।
एनआरएनएको साख र गरिमालाई अझ उचाइमा पु¥याउन सबै सदस्य एक ठाउँमा उभिनुपर्ने उल्लेख गर्दै शेरचनले एकतालाई नै संस्थाको वास्तविक शक्ति बताएका छन्।










