प्रतिनिधिसभा निर्वाचन : रोचक बन्दै संखुवासभाँमा चुनावी प्रतिष्पर्धा

news-details

प्रतिनिधिसभाको निर्वाचन यही फागुन २१ मा हुँदै छ । मतदाताहरु कुन पार्टी र व्यक्तिलाई मत दिँदा आफ्नो जिल्लाको विकास हुन्छ र आफ्नो दुःखसुखमा साथ दिन्छ, त्यस्तो व्यक्ति को हुन्छ भन्नेमा छलफलमा छन् । पटकौँपटक भोट हालेर जिताएका नेताहरुको दिनचर्या बदलिएको तर मतादाता, व्यक्ति, समुदाय र जिल्लाको अवस्था भने ज्यूँकात्यूँ हुँदा भने यस पटक मतदाताहरुको मन भाँडिएको छ । विकासको सहयोगी, सुखदुःखमा साथ दिने वचन दिएका नेताहरु भोट माग्न मात्र आउने र जितेपछि केन्द्रमै बस्ने परिपाटीले मतदाताहरुमा उत्साह नदेखिनु स्वभाविक पनि हो ।

अहिले चुनावी माहौलले देश तातेको छ । उम्मेदवारहरुलाई आ-आफ्नो पक्षमा भोट माग्नका लागि गाउँघर, शहरबजारमा भ्याई-नभ्याई छ । कोही पार्टीलाई हेरेर भोट मागि रहेकाछन् भने कोही व्यक्तिले गरेको योगदानलाई हेरेर मतदान गर्न आह्वान गरी रहेकाछन् । यस्तै अहिले संखुवासभाको चुनावी माहौल पनि ह्वातै तातेको छ । रोचक त यो छ कि अहिले जिल्लामा सबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

नेपाली कांग्रेसले नयाँ अनुहार अघि सारेको छ । खाँदबारी बजारका युवा नेता दिपनकुमार श्रेष्ठ कांग्रेसको लागि बलियो उम्मेदवार भएको दाबी कांग्रेसले गरेको छ । श्रेष्ठले चुनाव जित्नेमा कांग्रेस ढुक्क देखिन्छ । तर, कांग्रेस भित्रकै अर्को समूह भने त्यति ढुक्क देखिँदैन । किनभने कांग्रेसभित्र सबैको मन मिलिसकेको छैन । बजारको उम्मेदवार भएकाले गाउँको भोट के हुने भन्नेमा कांग्रेसभित्र छलफल चलिरहेको छ । कांग्रेसभित्र आन्तरिक खिचातानी तीब्र भएकाले चुनाव जित्न त्यति सजिलो नभएको उनीहरुको बुझाइ छ । नाम नभन्ने सर्तमा एक नेताले भने विशेष महाधिवेशनमा भएको खिचातानी र विभाजनले चुनावमा गम्भिर असर गर्ने देखिन्छ ।

उता, नेकपा एमालेले पनि नयाँ अनुहार भन्दै डा अर्जुन कार्कीलाई अघि सारेर चुनावमा होमिएको छ । लामो समय एनजिओ, आईएनजिओ चलाएका कारण उहाँको केन्द्र र अन्तराष्ट्रियस्तरसम्म पहुँच भए पनि जिल्लाका लागि खासै चासो नदिएको जिल्लाबासीको भनाइ छ । बौद्धिक व्यक्तित्व भएपनि राजनीति नबुझेका र मतदाताको दुःखसुख नबुझेका कार्की पुरानै पार्टीबाट नयाँ उम्मेदवार हुनुहुन्छ । तर, एमालेभित्र पनि कार्कीलाई अघिल्लो निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई नसघाएको आरोप पार्टीभित्रकै नेताहरुले सामाजिक सञ्जालमा व्यक्त गरी रहेका छन् । तसर्थ पनि कार्कीलाई चुनाव जित्न सजिलो चाँहि छैन । तर, कांग्रेसभित्रकै एक समूहले भने कार्कीलाई सहयोग गर्ने आँकलन गरिएको छ । कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र भएका कारण पनि यस पटक अघिल्लो पटक चुनाव हारेका नेता राजेन्द्र गौतमलाई टिकट नदिएर कार्कीलाई दिएको बताइएको छ । तर, एमालेभित्र पनि केन्द्रमा बस्नेले टिकट पाउने तर, पार्टीमा दुःख गरेका जिल्लामा बसेका नेताले, कार्यकर्ताले टिकट नपाएको गुनासो छ ।

यस बीचमा पुरानो पार्टी एमाले, कांग्रेस, नेपाली कम्यूनिष्ट पार्टीलगायतका पार्टीमा मत हाल्दै आएका मतदाता भने के गर्ने भन्ने रनभूलमा छन् । उम्मेदवारले जितेर गएपछि कार्यकताको दुःखसुखलाई नहेर्ने परिपाटीले उनीहरुको मन भाँचिएको देखिन्छ ।

यता रास्वपाबाट घण्टी चुनाव चिन्ह लिएर चुनावी दौडमा छन मिङमा शेर्पा । उनलाई समाजसेवी र दुःखसुखमा साथ दिने व्यक्तिको रुपमा जिल्लावासीले लिने गरेकाछन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका उनलाई पार्टीले अन्याय गरेपछि पार्टी परित्याग गरी रास्वपाबाट उम्मेदवार भएका उनलाई कांग्रेसका साथीभाइ र हितैषीले सघाउने आशा छ । रास्वपाबाट उम्मेदवार भए पनि उनी व्यक्तिगत रुपमा राम्रो छवि भएका व्यक्ति भएको जिल्लावासीको भनाइ छ । मर्दापर्दा र दुःखपर्दा मिङमालाई सम्झनेहरु धेरै छन् । पार्टीको संगठन नभए पनि व्यक्तिगत छवि नै उनले चुनाव जित्ने आधार भएको जानकारहरु बताउँछन् । एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीका भोट पनि आफूलाई आउनेमा मिङमा विश्वस्त छन् । किनभने कांग्रेसलाई अप्ठ्यारो पर्दा कांग्रेसलाई सघाएको मिङमाको गुन पनि कांग्रेसले बिर्सेका छैनन् भन्ने उनलाई छ । कांग्रेस र एमालेजस्ता पार्टीभित्रको बेमेलका कारण पनि मिङमालाई मत तान्न सजिलो छ । जिल्लामा पुराना पार्टीहरु रास्वपासँग डराएका छैनन् तर व्यक्तिगतरुपमा मिङमाको छविसँग चाहिँ डराएको आँकलन गरिएको छ । मिङमाको सरल जीवन शैली, दुःखसुखमा सघाउने र सामाजिक सेवाबाट प्रभावित हुने धेरै भए पनि चुनाव जित्ने नजित्नेमा भने अड्कलबाजी गरिँदै आएको छ ।

उता नेपाली कम्युनिष्ट पार्टीले भने चुनाव नजित्ने भएपछि तत्कालीन नेकपा एसकी सरिता खड्कालाई उम्मेदवार बनाएको छ । यसमा तत्कालीन माओवादी केन्द्रपक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

नेपाली कम्युनिष्ट पार्टी पनि आन्तरिक वादविवादमा रुमलिएका कारण यस पटकको निर्वाचन कांग्रेस, एमाले र रास्वपाबीच प्रतिस्पर्धा हुने देखिन्छ । यी तीन पार्टी मध्ये पनि एमाले र रास्वपाबीच नै टक्कर पर्ने आँकलन गरिएको छ । किनभने रास्वपाको संगठन नभए पनि मिङमा शेर्पा आफ्नो कमजोर भएको क्षेत्रमा पहिलेदेखि नै घरदैलोमा छन् । तर, पनि संखुवासभाको चुनाव यस पटक भने निकै रोचक नै हुने देखिन्छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया