युरो किड्सका संस्थापक अध्यक्ष नवराज काफ्लेलाई युरो किड्सको अन्तर्राष्ट्रिय एक्सीलेन्स अवार्ड
- माघ ६, २०८२
- 0
विगत २४ वर्षदेखि शिक्षा क्षेत्रमा निरन्तर योगदान दिँदै आउनुभएका प्रतिष्ठित शिक्षाकर्मी तथा युरो किड्स र युरो स्कुलका संस्थापक अध्यक्ष श्री नवराज काफ्ले युरो किड्स इन्टरनेशनलद्वारा ‘युरो किड्स एक्सीलेन्स अवार्ड–२०२६’ बाट सम्मानित हुनुभएको छ। युरो किड्स इन्टरनेशनलले आफ्नो स्थापनाको २५औँ वर्ष पूरा भएको अवसरमा विश्वभर उत्कृष्ट नेतृत्व, शैक्षिक गुणस्तर र संस्थागत योगदानका आधारमा काफ्लेलाई उक्त सम्मान प्रदान गरेको हो।

हाल काफ्लेले नेपालमा काठमाडौं, भक्तपुर, ललितपुर र सुनसरीको इटहरीमा गरी नेपालकै सबैभन्दा धेरै—५ वटा युरो किड्स सञ्चालन गर्दै नेतृत्व दिइरहनुभएको छ। उहाँ संसारभर विद्यार्थी भिसामा अध्ययन गर्न जाने विद्यार्थीका अभिभावकहरूको संस्था ‘अभिभावक संघ नेपाल’का केन्द्रीय अध्यक्षसमेत हुनुहुन्छ। आफैं अष्ट्रेलिया र अमेरिका जस्ता देशमा बसेर शिक्षा तथा व्यवस्थापनको अनुभव हासिल गर्नुभएका काफ्लेले नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ पूर्णकालीन रूपमा शिक्षामा समर्पित हुँदै आउनुभएको छ।

हाल युरो किड्स इन्टरनेशनलका विश्वभर १,७०० भन्दा बढी शाखा सञ्चालनमा छन्, जसमध्ये नेपालमा ३२ वटा शाखा रहेका छन्। नेपालका ती ३२ शाखामध्ये उत्कृष्ट कार्यसम्पादन, शैक्षिक गुणस्तर र योगदानका आधारमा जम्मा ४ वटा युरो किड्स मात्र पुरस्कृत भएका छन्। तीमध्ये काठमाडौं उपत्यकाभित्रका युरो किड्स छाउनी, युरो किड्स विशालनगर, युरो किड्स भक्तपुर तथा उपत्यकाबाहिर युरो किड्स घोरही, दाङ रहेका छन्। सम्मान कार्यक्रम जनवरी २० मा भारतको मुम्बईस्थित होटल फेयरमोन्टमा भव्य रूपमा सम्पन्न भएको थियो।

युरो किड्सको नेपाल बाहिर विस्तार गर्ने दीर्घकालीन योजनाअन्तर्गत काफ्लेले जापानबाट अन्तर्राष्ट्रिय विस्तार सुरु गर्ने तयारी भइरहेको जानकारी पनि दिनुभएको छ। यसका साथै, लामो समयदेखि लेखापरीक्षण पेशामा संलग्न रहँदै आएका काफ्लेको करिब १५० भन्दा बढी स्कुल तथा कलेजमा लेखा तथा विधालयको व्यवस्थापन हेरेको अनुभव छ, जसले उहाँलाई शिक्षाकर्ममा सफल नेतृत्वदायी भूमिका निर्वाह गर्न महत्वपूर्ण आधार प्रदान गरेको छ।













