देउवासँग भेटेर शेखर कोइरालाले भने- ‘विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्’
- पुस २४, २०८२
- 0
काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले विशेष महाधिवेशन पक्षधरसँग संवाद गरेर सहमतिको वातावरण निर्माण गर्न दवाव बढाएका छन्।
सभापति शेरबहादुर देउवासँग आजको भेटमा नेता कोइरालाले ‘पार्टीमा को के हुने भन्दा पनि पार्टी एकता जोगाउने’ विषय महत्वपूर्ण हुने भन्दै बृहत्तर सहमतिका लागि पहल गर्न आग्रह गरेका हुन् ।
महाराजगञ्जस्थित देउवा निवास पुगेर नेता कोइरालाले महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरिसकेको अवस्थामा सबै पक्षको सम्मान हुनेगरी समाधान खोज्न देउवाको ध्यानाकर्षण गराएका हुन् ।
उनले आफु कांग्रेसको सभापति बन्ने वा नबन्नेभन्दा पनि कांग्रेस सग्लो रहने वा नरहने भन्ने कुरा महत्वपूर्ण रहेको देउवालाई बताएका छन् ।
सभापति देउवासँग छलफलका क्रममा नेता कोइरालाले महामन्त्रीहरुले आह्वान गरिसकेको अवस्थामा भृकुटीमण्डपमा बोलाइएको विशेष महाधिवेशनलाई नै संकल्प सभामा परिणत गरेर निकास खोज्न सुझाव दिएका छन् ।
शेखरले महामन्त्रीद्वयसँग संवाद गर्न, कुरा सुन्न र समाधानको विकल्प खोज्न देउवामाथि दवाव बढाएका हुन् । आजै २ बजेपछि उपसभापति धनराज गुरुङ र सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारसहित शेखरले पुनः सभापति देउवासँग छलफल गर्नेछन् ।










