कांग्रेस राजनीतिमा डा. शेखरको ‘यू–टर्न’: विरासत जोगाउने दाउ कि देउवाको आशिर्वादको पर्खाइ ?
- उत्तम भट्टराई
- पुस २२, २०८२
- 0
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शेरबहादुर देउवालाई कडा टक्कर दिएर ‘इतर समूह’ को सर्वसम्मत नेता बनेका डा. शेखर कोइराला अहिले आफ्नै समूहभित्र संशयको घेरामा परेका छन । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीभित्र विशेष महाधिवेशन वा नीतिगत परिवर्तनको बहस छेड्दा कोइरालाको ‘मौनता’ र बदलिएको ‘बोली’ ले कांग्रेस वृत्तमा नयाँ तरंग पैदा गरेको छ ।
कुनै समय देउवाका कट्टर आलोचक मानिने कोइराला पछिल्लो समय सभापति देउवासँग निकै नरम देखिएका छन । राजनीतिक विश्लेषकहरू यसलाई १५ औँ महाधिवेशनको तयारीका रूपमा हेर्छन् । देउवाको ‘आशिर्वाद’ विना सभापति बन्न कठिन हुने बुझाइले उनलाई संस्थापन पक्षसँग नजिक ल्याएको हुनसक्छ । तर, प्रक्रिया र विधानको दुहाई दिएर महामन्त्रीहरूको सक्रियतामा विमति जनाउनुले उनी कतै देउवाकै ‘यथास्थितिवाद’ को संरक्षक त बन्दै छैनन भन्ने प्रश्न उठेको छ ।
शेखर कोइरालामा देखिएको सबैभन्दा ठूलो चुनौती भनेको ‘निर्णायक क्षमता’ को अभाव हो । एकातिर उनी विरासतको राजनीति जोगाउन चाहन्छन भने अर्कोतिर युवा पुस्ताको लोकप्रिय मत पनि गुमाउन चाहदैनन ।
पार्टी रुपान्तरणका लागि महामन्त्रीहरूले चालेका कदममा साथ दिनुको साटो ‘केन्द्रीय समितिबाटै निर्णय हुनुपर्छ’ भन्नु प्राविधिक रूपमा सही देखिए पनि राजनीतिक रूपमा यसले देउवालाई नै बल पु¥याइरहेको छ । प्रक्रियाको कुरा गरेर परिणामलाई अल्झाउने उनको शैलीले कार्यकर्तामा निराशा पैदा गरेको छ ।
कोइराला परिवारको विरासतले मात्र अबको कांग्रेस चल्न सक्दैन भन्ने तथ्य स्वयं कोइरालाले बुझ्नुपर्ने हो । कसैको आशिर्वादबाट सभापति बन्न खोज्नुले उनको आफ्नै ‘विद्रोही’ पहिचानलाई कमजोर बनाउँछ । देशभरका कांग्रेस कार्यकर्ताले उनीबाट एउटा स्पष्ट मार्गचित्र र साहसको अपेक्षा गरेका छन्, न कि देउवाको उत्तराधिकारी बन्ने दौड ।
डा. कोइराला यतिबेला ‘दोबाटो’ मा छन । उनले कि त महामन्त्रीहरूले उठाएको एजेन्डामा स्पष्ट साथ दिएर पार्टी रुपान्तरणको नेतृत्व गर्नुपर्छ, कि त संस्थापन पक्षसँगको आफ्नो सहकार्यको औचित्य पुष्टि गर्नुपर्छ । ‘ढुलमुले’ चरित्रले न त देउवाको पूर्ण विश्वास प्राप्त हुन्छ, न त इतर समूहको साथ रहिरहन्छ ।
डा. शेखर कोइरालाका लागि यो समय आफ्नो राजनीतिक कद उँचो बनाउने अवसर हो । विरासतको आडमा ‘सेफ ल्यान्डिङ’ खोज्नुभन्दा विचार र मुद्दामा स्पष्ट भएर कार्यकर्ताको मत जित्ने साहस देखाउनु नै उनको राजनीतिक भविष्यका लागि हितकर हुने देखिन्छ ।










