राप्रपा बैठकको निष्कर्ष- ‘राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाट पुनःस्थापना गर्नुपर्छ’
- मंसिर २६, २०८२
- 0
काठमाडौँ स् राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था जनमत संग्रहबाट नभई सबैको सहमतिबाटै पुनःस्थापित हुनुपर्ने बताएको छ।
शुक्रवार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सुनाउँदै अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राप्रपा राजसंस्था जनमतसंग्रह वा कुनै रक्तपातको बाटोबाट नहुने स्पष्ट पारेका हुन्। उनले राजसंस्था पुनःस्थापनका लागि यदाकदा जनमत संग्रहको कुरा उठ्ने गरेको भन्दै राप्रपाको परिकल्पनाको राजसंस्था पूर्ण संवैधानिक राजसंस्था भएको बताए।
राजसंस्थाको पुनःस्थापना जनमतसंग्रह वा कुनै रक्तपातको बाटोबाट नहुने बताए। आफूहरूको परिकल्पनाको राजा राप्रपाको मात्र राजा नभई देशको साझा संस्था हुने बताए। राजसंस्था अल्पमत वा बहुमतबाट स्थापित हुने संस्था नभएको बताए। यस प्रकारका साझा संस्थालाई अल्पमत र बहुमतबाट निर्णय गर्न थालियो भने त्यसले झन जटिलता पैदा गर्ने खतरा रहने बताए।
लिङदेनले भने, ‘राप्रपाको परिकल्पनाको राजसंस्था पूर्ण संवैधानिक राजसंस्था हो र यो संस्थाको पुनःस्थापना जनमतसंग्रह वा कुनै रक्तपातको बाटोबाट होइन, राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्छ। हाम्रो परिकल्पनाको राजा राप्रपाको मात्र राजा होइन, देशको साझा संस्था हुनेछ। यस्तो साझा संस्था सहमतिबाट हुनुपर्छ भन्ने राप्रपाको मान्यता छ।’
बैठकमा प्रस्तुत सचिवालय सम्बन्धित प्रतिवेदन, आर्थिक प्रतिवेदन, सक्रिय सदस्यता सम्बन्धी निर्देशिका, महाधिवेशन कार्यतालिका लगायत सबै प्रतिवेदन संशोधनसहित कार्यसमितिले पारित गरेको छ।
आम निर्वाचनअगावै राजा, राजनीतिक दल र जेन–जीबीच नयाँ समझदारी कायम गरी मुलुकलाई निकास दिन जनदबाब सिर्जना गर्न पुस महिनामा देशभर जनसंवाद तथा जनप्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको अध्यक्ष लिङदेनले बताउनु भयो। राजनीतिक समस्याको समाधान र जेन–जी पुस्ताले उठाएका मागहरुको सम्बोधन नगरी यथास्थितिमा गरिने निर्वाचनले मुलुकलाई निकास नदिने बताए।










