अपाङ्गता भएका व्यक्तिको अधिकार र सम्मानलाई सुनिश्चित गर्न सरकार प्रतिवद्ध छ : सञ्चारमन्त्री खरेल
- मंसिर १७, २०८२
- 0
काठमाडौँ, १७ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन ।
अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिले बुधबार भृकुटीमण्ड परिसरमा आयोजना गरेको समारोहमा मन्त्री खरेलले सरकारले अपाङ्गमैत्री नीतिगत र संरचनागत सहकार्य गर्ने विश्वास व्यक्त गरे ।
मन्त्री खरेलले अपाङ्गता भएका व्यक्तिहरुको सहयोगी निर्देशिका चाडै कार्यान्वयनमा ल्याइने विश्वास व्यक्त गरे । उनले भने,“यसअघि राजनीतिक दलका नेताहरुले गर्छु भने गरेनन् तर, म गर्छु भन्दिन गरिसकेपछि गरिऊ है भनेर भनुम्लानी । हाम्रो देशमा गर्छुभन्ने रोग छ ।”
सञ्चारमन्त्री खरेलले सरकारकोतर्फबाट निर्देशिका कार्यान्वयन ल्याउने र कम्तिमा सानो रुपमा भएपनि गम्भीर रुपमा अपाङ्गता भएका नेपाली दाजुभाई दिदीवहिनीहरुका लागि केही न केही प्रक्रियाको प्रारम्भ गरिने स्पष्ट पारे ।
मन्त्री खरेलले सामाजिक न्याय, समता, समानता तथा विवेधरहित समाज निर्माण र सामाजिक विभेदहरुको अन्त्य गर्न सरकार प्रतिवद्धताका साथ लाग्ने बताए ।
सञ्चारमन्त्री खरेलले सप्रधानमन्त्री सुशीला कार्कीले पनि दिवसको अवसरमा शुभकामना सन्देशमा पनि सरकार अपाङ्गता भएका व्यक्तिहरुको साथमा रहेको जानकारी गराईसकेकाले यसलाई अगाडि बढाउने कुरामा सरकारलाई सहयोग पुग्ने बताए । उनले सञ्चार तथा सूचना प्रविधिमन्त्रालयलाई कसरी अपाङ्गमैत्री बनाउन सकिन्छ, नीतिगत र संरचनागतरुपमा कार्यान्वयन गर्न मन्त्रालय सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।
महासङ्घका अध्यक्ष देवीदत्त आचार्यले अपाङ्गमैत्री संरचना र नीतिगत सुधारका लागि सरोकारवालाहरुको ध्यानाकर्षण गराए ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाजकल्याण परिषद, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल र राष्ट्रिय अपाङ्ग कोषको संयुक्त आयोजनामा भएको कार्यक्रममा अपाङ्गता क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।
यसअघि विहान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको नेतृत्वमा प्रभातफेरी आयोजना गरिएको थियो । खुलामञ्चबाट सुरु भएको प्रभातफेरी भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो ।
‘अपाङ्गता समावेशी समाजको प्रवद्र्धनः सामाजिक उन्नतिको संवद्र्धन’ भन्ने नाराका साथ यस वर्ष अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तरराष्ट्रिय दिवस मनाइएको छ । अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवद्र्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गताभएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस मनाउन थालिएको हो । दिवसले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा संकल्पलाई पुनः स्मरण गराएको छ ।
नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको भएपनि व्यवहारिक रुपमा पूर्ण कार्यान्वयन हुनुपर्ने माग उठ्दै आएको छ ।










