प्रधानमन्त्री कार्कीले दलहरुलाई भनिन्– चुनावमा भाग नलिनेले अराजकता रोजेको ठहरिन्छ
- मंसिर ३, २०८२
- 0
प्रधानमन्त्री सुशीला कार्कीले घोषित निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा सरकारको उच्च प्राथमिकता रहेको बताएकी छिन् ।
जुनसुकै राजनीतिक विवाद वा अराजकतालाई नियन्त्रण गरी हरेक नागरिकले निर्भयताका साथ मतदान गर्न सक्ने वातावरण सिर्जना गरिने उनको प्रतिबद्धता छ ।
आज आफैँले बोलाएको सर्वदलीय वैठकमा सम्वेधन गर्दै कार्कीले संसद् पुनःस्थापनाको अडान नलिने दलहरुलाई आग्रह गरिन् । पुनर्स्थापनाको अडान लिने हो भने त्यसले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्याउन खोजेको पुष्टि हुने उनको भनाइ थियो । अबको राजनीतिक बहसलाई संवैधानिक निकासको बाटो अर्थात् निर्वाचनमा केन्द्रित गर्नुपर्नेमा उनले जोड दिइन् ।
उनले मंसिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन अपिल गरिन् ।कार्कीले थपिन्, ‘यो राष्ट्रप्रतिको तपाईंहरूको न्यूनतम राजनीतिक प्रतिबद्धताको कसीमा जाँच हो । दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिनेछ ।’
निर्वाचनको संघारमा राजनीतिक आचार र अभिव्यक्तिमा पनि ध्यान दिनु आवश्यक रहेको कार्कीको भनाइ छ । केही नेताहरूले प्रयोग गरेका द्वेषपूर्ण शब्दावलीहरूले राजनीतिक र सामाजिक वातावरणलाई दूषित बनाएको उनले टिप्पणी गरिन् ।
जोखिम व्यवस्थापनका लागि राजनीतिक विवाद चर्किएका वा सुरक्षाका रूपमा संवेदनशील जिल्लाहरूलाई ‘हट–स्पट’ मा राखेर सादा पोशाकका सुरक्षाकर्मी र गुप्तचरको परिचालन बढाइएको कार्कीले जानकारी दिइन् ।










