एनआरएनएले बनाइदियो ट्राफिक कन्ट्रोल रुम, अध्यक्ष श्रेष्ठद्वारा हस्तान्तरण
- कार्तिक ११, २०८२
- 0
गैरआवासी नेपाली संघ (एनआरएन)ले ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनर्निर्माण गरिदिएको छ ।
जेनजी आन्दोलनले ध्वस्त बनाएको सो कन्ट्रोल रुम पुनर्निर्माण गरी मंगलबार एक कार्यक्रमका बिच एकता महाधिवेशनबाट निर्वाचित एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौँको रामशाह पथमा रहेको सो ट्राफिक कन्ट्रोल रुम जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरिएको थियो । विपद्मा परेका बेला मातृभूमिलाई सहयोग गर्नुपर्ने दायित्व अन्तरगत सो कन्ट्रोल रुम पुनर्निर्माण गरी हस्तान्तरण गरिएको श्रेष्ठले बताए । उनले सो रुम दीर्घकालसम्म सञ्चालनमा आउने गरी पुनर्निर्माणको काम गरिएको पनि बताए ।
उनले भने, ‘यस कन्ट्रोल रुममा केवल सुधारको पक्ष मात्रै होइन, सस्टेनविलीटी, अपरेटरको सहजतालाई ध्यानमा राखेका निर्माण गरेका छौं । यस परियोजनामा जडित भएका सबै उपकरणहरू दीर्घकालसम्मलाई ध्यानमा राखेर व्यवस्थापन गरिएको छ । विश्वका विकसित सहरहरूको ट्राफिक व्यवस्थापनले धेरै कुरा सिकाएको छ । सिंगापुर, दुबई, लण्डन जस्ता शहरहरुमा स्मार्ट ट्राफिक प्रहरी म्यानेजमेन्ट सिस्टम लागू भइसकेको छ । नेपालमा पनि त्यो सिस्टम लागुपर्ने छ ।’
कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले सो रुम पुनर्निर्माण गरी हस्तान्तरण गरिदिएकोमा गैरआवासीय नेपाली संघप्रति आभार व्यक्त गरे । उनले मातृभूमिप्रतिको मायाको रूपमा सो काम भएको समेत उल्लेख गरे ।
सो कन्ट्रोल रुमबाट काठमाडौँ, ललितपुर र भक्तपुर काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाको ट्राफिक व्यवस्थापनको काम हुने गर्दछ । त्यसको पुनर्निर्माण कार्यले ट्राफिक व्यवस्थापनको काममा धेरै ठुलो सहजता प्राप्त भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।










