तिलिचो बेस क्याम्पमा फोरजी सेवा सूरु, मन्त्री खरेलले गरे भिडियो कलमार्फत परीक्षण

news-details

मनाङको तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ । हिमालपारीको जिल्ला भनेर चिनिने मनाङको प्रसिद्ध पर्यटकीय स्थल तिलिसो बेस क्याम्पमा आजदेखि फोरजी सेवा सञ्चालनमा आएको हो ।

तिलिचोमा फोरजी सेवा सञ्चालनमा आएसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तिलिचोमा रहेका टेलिकमका फिल्ड इन्जिनियर निरज गुप्तासँग भिडियोकलमार्फत कुराकानी गर्दै प्रसिद्ध पर्यटकीय क्षेत्र तिलिचोमा फोरजी सेवा सञ्चालनमा आएकोमा खुशी व्यक्त गरे । उनले तिलिचो आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालन गराउन सफल भएकोमा टेलिकम, जनप्रनिनिधि र स्थानीयलाई धन्यवाद ज्ञापन गरे ।

मन्त्री खरेलले आफूले जिम्मेवारी सम्हालेदेखि नै दूर्गम क्षेत्रहरुमा टेलिकमको पहुँच पुर्याउनुपर्छ भनेर काम अगाडि बढाएको र त्यसको चरणबद्ध परिणाम आउन थालेको बताए । उनले भने,“सरकारले दुर्गम क्षेत्रहरुमा भ्वाईस र डेटा पुर्याउने लक्ष्य लिएको छ, आज तिलिचो आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालन हुदा त्यहा जाने पर्यटक र स्थानीयलाई सहयोग पुग्ने छ । टेलिफोन र इन्टरनेट नपुगेका देशका दुर्गम क्षेत्रमा सेवा विस्तारका लागि लागिपरेका छौँ ।”

तिलिचोमा रहेका इन्जिनियर गुप्ताले फोरजी सेवा सञ्चालनमा आएसँगै पर्यटक र स्थानीयलाई ठूलो सहयोग पुग्ने विस्वास व्यक्त गरे । स्थानीयलाई आफन्तसँग कुराकानी गर्न, डिजिटल पेमेन्टमा सहयोग पुग्ने बताए । तिलिचोमा यात्रा गर्ने पर्यटक र स्थानीयलाई सञ्चार आदन प्रदानका साथै उचाईमा लेकलाग्ने समस्या आउने हुनाले समस्यामा परेकाको उद्धारको कार्यमा सहयोग पुग्ने उनले बताए ।

फोरजी सेवा नहुदा नेटवर्कको समस्याले लामो दूरीको क्षेत्रमा नेटवर्क भएको स्थानमा गएर पैसा तिर्नुपर्ने बाध्यता थियो अब, पर्यटक, व्यवसायी र स्थानीयलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सहज हुने इन्जिनियर गुप्ताले बताए ।

तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाइमा रहेका तालहरुमध्येको एक हो । हिमालय पर्वत शृंखला अन्तर्गत मनाङ जिल्लामा अन्नपूर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४,९१९ मिटर उचाइमा छ ।

टेलिकमले तिलिचो बेसक्याम्पमा नयाँ बीटीएस स्थापना गरी फोरजी सेवा सञ्चालनमा ल्याएको हो । नेपालको पदयात्राका लागि प्रसिद्ध स्थलहरुमध्ये करिब ४३५० मिटरको उचाइमा तिलिचोताल जाने रुटमा टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत टुजी तथा फोरजी सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

सेवा सञ्चालनमा आएसँगै खाङसार–श्रीखर्क–तिलिचो बेसक्याम्प–बाइसघुम्ती हुँदै तिलिचो ताल क्षेत्रका बासिन्दा तथा पर्यटकहरूलाई सञ्चार सम्पर्क गर्न र पर्यटन, होटल लगायतका व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई डिजिटल भुक्तानी प्रणालीमा आवद्ध हुनसमेत सहज हुने जनाइएको छ ।

उच्च उचाइ र धेरैजसो प्रतिकूल मौसमको अवस्था रहने यस क्षेत्रमा पदयात्राका क्रममा पदयात्रुलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या भैहालेमा पनि आपतकालीन उद्धार कार्यका लागि नेपाल टेलिकमको सञ्चार सुविधाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास स्थानीयको रहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया