सुनापाती पोलिक्लीनिकको निःशुल्क स्वास्थ्य शिविर, ४६७ जना सेवाग्राहीले लिए सेवा
- मंसिर १६, २०८१
- 0
सुनापाती पोलिक्लीनिक तथा हेल्थ सेन्टरले संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ४६७ जना सेवाग्राहीहरुले निःशुल्क सेवा लिएका छन् ।
सुनापाती पोलिक्लीनिक तथा हेल्थ सेन्टरको आयोजना तथा होप भ्याल्ली स्कोलर्स एकेडेमी र महालक्ष्मी नगरपालिका वडा नं. २ इमाडोलको सह–आयोजनामा महालक्ष्मी नगरपालिकाका नगरप्रमुख हरि गोबिन्द श्रेष्ठ र वडा नं. २ का वडाअध्यक्षको उपस्थितिमा इमाडोलस्थित होप भ्याल्ली स्कोलर्स एकेडेमीमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा निःशुल्क औषधि वितरण, सुगर परिक्षण, पिसाब परिक्षण, सम्पुर्ण ल्याब टेस्टमा २० प्रतिशत छुट, भिडियो एक्सरेमा २० प्रतिशत छुट, इसिजिमा २० प्रतिशत छुट, डिजिटल एक्सरेमा २० प्रतिशत छुट र होल बडि चेकअप मात्र ४ हजार रुपैयामा गर्ने व्यवस्था गरिएको सुनापाती पोलिक्लीनिकका संचालक जीवन केसीले जानकारी दिए ।
स्वास्थ्य शिविरमा कान्ति बाल अस्पतालकी बालरोग विशेषज्ञ डा. अन्जुली लिम्बू, मेडिसिटी हस्पिटलकी स्त्री रोग तथा प्रसुती विशेषज्ञ डा. निलिमा बज्राचार्य, काठमाडौं थाइराइड सेन्टर र नर्भिक इन्टरनेशनल हस्पिटलका मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. किरण आचार्य, नेपाल प्रहरी अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. राजीव रञ्जन यादव, काठमाडौं मोडेल हस्पिटलका वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा. अरुण कार्की, स्टार हस्पिटलका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. अमित झा, किष्ट हस्पिटलका छाती रोग विशेषज्ञ डा. निरज पुरी र टिचिङ्ग हस्पिटलका जनरल फिजिसियन डा. आनन्द कुमार मिश्रले सेवा प्रदान गरेको संचालक केसीले बताए ।
जाडो सिजनमा हुने प्रदुषण र चिसोपनले धेरै मानिसहरु बिरामी हुने भएकाले महालक्ष्मी नगरपालिका वडा नं. २ का बासिन्दाहरुलाई लक्षित गरि वरिष्ठ डाक्टरहरुद्धारा शिविर आयोजना गरेको उनले बताए ।
विशेषगरि सम्पुर्ण मानिसहरुमा स्वास्थ्यको पँहुज सहज तरिकाले पुगोस् भन्ने उद्देश्यका साथ निम्न वर्गका मानिसहरुलाई लक्षित गरि शिविरको आयोजना गरिएको केसीले बताए ।
संचालक केसीले सुनापाती पोलिक्लीनिकले अहिले लेटेस्ट टेक्नोलोजीहरु प्रयोग गरि स्वास्थ्य परिक्षण र उपचार गर्दै आईरहेको तथा हप्ता–हप्ता दिनमा निःशुल्क सेवा पनि प्रदान गरिरहेकोे बताउँदै एकपल्ट सुनापाती पोलिक्लीनिमा आएर आफ्नो स्वास्थ्य परिक्षण गर्न सबैलाई आग्रह गरे ।
त्यस्तै महालक्ष्मी नगरपालिकाका नगरप्रमुख हरि गोबिन्द श्रेष्ठले सुनापाती पोलिक्लीनिक तथा हेल्थ सेन्टरले महालक्ष्मी नगरपालिकाका विभिन्न स्थानहरुमा विगत लामो समयदेखि स्वास्थ्य शिविरको आयोजना गरि त्यहाँका जनताहरुलाई स्वस्थ्य रहन अभिप्रेरित गरेकोमा खुशी व्यक्त गरे ।
साथै उनले आगामी दिनमा नगरपालिकाको आर्थिक सहयोगमा सुनापाती पोलिक्लीनिकसँग सहकार्य गरि नगरपालिकाले स्वास्थ्य शिविरको कार्यक्रमहरु आयोजना गर्ने समेत प्रतिवद्धता जनाए ।
कार्यक्रममा होप भ्याल्ली स्कोलर्स एकेडेमीका प्रधानाध्यापक गणेश निरौलाले विद्यालय सामाजिक सेवा गर्ने स्थान भएका कारण सुनापाती पोलिक्लीनिकले गरेको सामाजिक कार्यमा सहकार्य गरि शिविर संचालनका लागि स्थान प्रदान गरेको बताए । शिविरमा धेरै विद्यार्थीहरुले स्वास्थ्य परिक्षण गराएको बताउँदै उनले आगामी दिनहरुमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।
नाक, कान र घाँटी विशेषज्ञ डा. अमित झाले स्वास्थ्य परिक्षण गर्न आएका धेरैजसो मानिसहरुमा समस्या रहेको जानकारी दिए । मानव शरिरमा नाक, कान, घाँटी एकदमै संवेदनशिल अंग भएका कारण सबैले बेलाबेलामा आफ्नो स्वास्थ्य परिक्षण गर्न समेत सुझाव दिए ।
त्यस्तै सेवा लिन आएका स्थानीय सेवाग्राही मुस्कान सुवेदीले सुनापाती पोलिक्लीनिकले स्थानीय जनताका लागि धेरै राम्रो कार्य गरेको बताए ।
सुनापाती पोलिक्लीनिक तथा हेल्थ सेन्टरले प्रत्येक ३–३ महिनामा स्वास्थ्य शिविर आयोजना गर्दै आईरहेको छ । विशेषगरि महालक्ष्मी नगरपालिकाका बासिन्दाहरुलाई लक्षितगरि शिविर आयोजना गर्दै आईरहेको सुनापाती पोलिक्लीनिकले आगामी दिनहरुमा पनि निरन्तर सेवा प्रदान गर्ने जनाएको छ ।











