मनसुनी वायुको प्रभाव : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- अशोज २४, २०८१
- 0
यस वर्षको मनसुन मङ्गलबार देखिनै काठमाडौँ उपत्यकासहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भू-भागबाट बाहिरिए पनि केही भेगमा मनसुनी वायुको प्रभाव देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार विहीबार कोसी र मधेस प्रदेशका अधिकांश भू-भाग तथा बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव देखिएको छ ।
बिहीबार बिहान देशका पहाडी भू-भागको मौसम आंशिकदेखि साधारणतया बदली छ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज (विहीबार)दिउँसो पनि देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाको छ।
कोसी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशसहित बाँकी पहाडी भू-भागका एकदुई स्थानमा दिउँसो पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
महाशाखाले यसअघि नै यस वर्ष दसैँको सप्तमी (२४ गते), अष्टमी (नवमी २५ गते) र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाइसकेको छ ।
नेपालमा यही असोज २० गतेदेखि मनसुन बहिर्गमन सुरु भएको थियो। यस वर्षको मनसुन गत जेठ २८ गते भित्रिएको थियो।










