सरकारको दैवी प्रकोप कोषमा ५० लाख दिने कांग्रेसको निर्णय
- अशोज १३, २०८१
- 0
नेपाली कांग्रेसले सरकारको दैवी प्रकोप कोषमा ५० लाख दिने निर्णय गरेको छ ।
आइतबार पार्टी सभापति शेरवहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठककले बाढी प्रभावितहरुका लागि ५० लाख सहयोग प्रदान गर्ने र यसका लागि सबै सांसदहरुको १५ दिनको तलब लिने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
साथै कांग्रेस बैठकले निरन्तरको वर्षाका कारण बाढी र पहिरोमा परि मृत्यु भएका सबैलाई श्रद्धाञ्जली व्यक्त गर्नुका साथै यो समग्र घटनाप्रति पार्टीले दुख व्यक्त गरेको छ । यस्तै बैठकले बाढी पहिरोमा हराएका सबैको चाँडो भन्दा चाँडो उद्धार गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।
साथै कांग्रेसले संगठनको सय दिने अभियान स्थगन गरेको छ । बैठक पश्चात् जानकारी दिँदै पार्टी प्रवक्ता प्रकाशशरण महतले कोजाग्रत पूर्णिमा सम्मका लागि अभियान स्थगन गरिएको जानकारी दिए । उनले सम्पूर्ण पार्टी पंक्तिलाई उद्धार र राहत कार्यमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय भएको जानकारी दिए । साथै उनले कोजाग्रत पूर्णिमामा कांग्रसले गर्दै आएको चियापान कार्यक्रम पनि नगर्ने निर्णय भएको उनले बताए ।










