स्थापना दिवसको अवसरमा रञ्जना सिस्टर्सद्धारा सिन्धुपाल्चोकका २९ जना बहिरा विद्यार्थीलाई सहयोग (फोटोफिचर)
- अशोज ७, २०८१
- 0
सिन्धुपाल्चोक – लायन्स इन्टरनेशनल ३२५ आई नेपाल अन्तर्गत लायन्स क्लव अफ काठमाडौं रञ्जना सिस्टर्सले क्लवको चौथो स्थापना दिवसको अवसरमा सिन्धुपाल्चोकको सिन्धु बहिरा आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री तथा आर्थिक सहयोग प्रदान गरेको छ ।
क्लवकी अध्यक्ष कल्पना श्रेष्ठको संयोजकत्वमा क्लवले सिन्धुपाल्चोकको बाह्रबिसेमा रहेको सो विद्यालयको २५ औं स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा विद्यालयमै पुगेर विद्यार्थीका लागि आवश्यक शैक्षिक सामाग्री तथा आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
रजत महोत्सवका अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले रञ्जना सिस्टर्सले काठमाडौंबाट सिन्धुपाल्चोक गई बोल्न र सुन्न नसक्ने बालबालिकाका लागि गरेको सहयोगकोे प्रसंसा गर्दै अन्य संघ संस्थाहरुले सिक्न जरुरी रहेको बताए ।
त्यस्तै सो विद्यालयकी प्रधानाध्यापक मैना कार्कीले क्लवले आफ्नो विद्यालयलाई नै छनौट गरेर गरेको सहयोगप्रति आभार व्यक्त गरिन् । घरपरिवारबाट टाढा रहेर बसेका बच्चाहरुले पनि आफ्नै अभिभावक आएर सहयोग गरेको महशुस गरेको उनले बताइन् । साथै आगामी दिनहरुमा पनि यस्ता साथ र सहयोग आवश्यक रहेको उनले बताइन् ।
क्लवका पदाधिकारीहरुको सक्रियतामा क्लवले विद्यार्थीहरुका लागि आवश्यक कापी, कलम, पेन्सिल, इरेजर, पानी खाने बोतल, स्कुल ब्याग, शिक्षकहरु र आयाहरुका लागि नयाँ कपडा, चप्पल र अन्य स्टेशनरीका सामानहरु सबैलाई पुग्नेगरि प्रदान गरेका थिए भने प्रत्येक विद्यार्थीहरुलाई ५ सय रुपैयाका दरले नगद हस्तान्तरण गरेका थिए ।
त्यस्तै कार्यक्रममा सोही विद्यालयका २ जना पूर्व विद्यार्थीहरुलाई उनीहरुले त्यस विद्यालयमा अध्ययनगरि अहिले गरिरहेको कार्यको प्रशंसा गर्दै नगद सहयोग गरेका थिए ।
कार्यक्रममा बोल्दै रञ्जना सिस्टर्सकी अध्यक्ष श्रेष्ठले आफ्नो क्लवको र विद्यालयको एकैदिन स्थापना दिवस परेको र सोही अवसरमा बोल्न र सुन्न नसक्ने बालबालिकाहरुका लागि विभिन्न क्लवका पदाधिकारीहरु मिलेर सहयोग गर्न पाउँदा गर्व महशुस भएको बताईन् । साथै आगामी दिनहरुमा पनि यस्ता साथ र सहयोग निरन्तर गर्दै जाने प्रतिवद्धता समेत जनाईन् ।
कार्यक्रममा बाह्रबिसे नगरपालिकाका मेयर उप–मेयर तथा स्थानीय निकायका जनप्रतिनिधिहरुले समेत विद्यालयका लागि रञ्जना सिस्टर्सले गरेको सहयोग प्रति खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा क्लवका पदाधिकारी, निवर्तमान अध्यक्ष एलिसा श्रेष्ठ, क्लवकी सचिव शारदा शाक्य साथै विभिन्न क्लवका सदस्यहरुको उपस्थिति रहेको थियो ।
क्लवले केहि समयअघि उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गर्दै उनीहरुको मनोबल उच्च गराउन नैतिक मुल्य सम्बन्धि सचेतना कार्यक्रम पनि सम्पन्न गरेको थियो ।






























