‘खेमराज गुरुङ स्रष्टा सम्मान’द्धारा शिलाबहादुर मोक्तान सम्मानित

टीका चाम्लिङलाई प्रतिभा पुरस्कार
news-details

गायक एवं संगीतकार खेमराज गुरूङको स्मृतिमा स्थापना गरिएको खेमराज गुरूङ ट्रष्टले यस वर्षको स्रष्टा सम्मान वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानलाई प्रदान गरेको छ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सोमबार आयोजित कार्यक्रममा मोक्तानलाई नगद ५० हजार रूपैयाँसहित सम्मान गरिएको हो।

२०३१ सालमा अल इण्डिया रेडियो, कर्सियङबाट गीत संगीतमा प्रवेश गरेका मोक्तानका लोक, आधुनिक, राष्ट्रिय, भजन तथा फिल्मका गरी ३ हजारभन्दा बढी गीत रेकर्ड छन्। ुमाथि माथि शैलुंगेमा, चोली राम्रो पाल्पाली ढाकाकोु जस्ता गीत उनिद्वारा संगीतबद्ध केही चर्चित गीतहरू हुन्।

गतवर्ष यो सम्मान भजन शिरोमणि भक्तराज आचार्यलाई प्रदान गरिएको थियो।

यस्तै, ट्रष्टले प्रतिभा पुरस्कार कवि एवं गीतकार टीका चाम्लिङलाई प्रदान गरेको छ। यो पुरस्कारको राशी २० हजार रूपैयाँ छ।

रेडियो नेपालबाट आयोजित आधुनिक संगीत सम्मेलनमा प्रथम स्थान हासिल गरेका चाम्लिङले ुजाउँ संगी गाउँघरैमा, आलु तामाले, सै हमाु लगायतका गीत रचना गरेका छन्। अस्वस्थताका कारण पुरस्कार ग्रहण गर्न टीका चाम्लिङ स्वयं भने उपस्थित थिएनन्।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, सिक्किम सरकारका पूर्वमन्त्री गर्जमान गुरूङ लगायतका अतिथिहरूको उपस्थितिमा सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रमका वक्ताहरूले खेमराज गुरूङले नेपाली संगीतको क्षेत्रमा दिएको योगदानको चर्चा गरेका थिए। खेमराजकी आमा तुलसीमाया गुरूङको सभाध्यक्षमा कार्यक्रम भएको थियो।

खेमराज गुरूङ ट्रस्ट नेपाली गीत, संगीत, कला, साहित्य र संस्कृतिको श्रीवृद्धिका लागि विभिन्न गतिविधि संचालन गर्ने, नयाँ प्रतिभालाई पुरस्कृत गर्दै हौसला प्रदान गर्ने तथा अग्रज स्रष्टालाई सम्मान गर्ने उद्देश्य राखेर २०७४ सालमा स्थापना गरिएको थियो।

खेमराज गुरूङको २०७३ साल भदौमा कृष्ण जन्माष्टमीको दिन निधन भएको थियो। उनका वारी जमुना, पारी जमुना, आलु तामाले, धरान बजारु लगायतका थुप्रै गीत लोकप्रिय छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया