दुर्गा प्रसाईंविरुद्ध रास्वपा नेतृ संग्रौलाले साइबर व्युरोमा उजुरी दिदै
- रोजगारमञ्च
- भदौ १०, २०८१
- 0
मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृ तथा सञ्चारकर्मी ज्वाला संग्रौलाले प्रहरीमा उजुरी दिने भएकी छन् । प्रसाईंले आफ्नो चरित्रहत्या गरेको भन्दै संग्रौलाले प्रहरीको साइबर ब्युरोमा उजुरी हाल्न लागेकी हुन् ।
आफूले सबै प्रमाणसहित प्रक्रियागत रुपमा उजुरी आइतबार नै तयार गरेको भएता पनि समयाभावका कारण ब्युरोले उजुरी दर्ता गर्न नभ्याएकोले मंगलबार कार्यालय समयमा दर्ता गरिने बताएकी छिन् ।
प्रसाईंले केही दिनअघि एक युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै ज्वालामाथि लाञ्छना लगाएका थिए । कान्तिपुरको मास्टर हेड दुरुपयोग गर्दै प्रचार गरिएको फेक न्यूज पोस्टका आधारमा प्रसाईंले लाञ्छना लगाएका हुन् । केही समयअघि ‘जापानमा वेश्यावृत्तिमा संलग्न भनिने ज्वाला संग्रौला’ भन्ने टाइटल राखेर उनको तस्विरसहित फोटोसप गरिएको सामग्रीलाई ज्वालाका विरोधीले सामाजिक सञ्जालमा हालेका थिए ।
पछि फ्याक्ट चेकमा कान्तिपुरले यस्तो शीर्षकमा समाचार कहिल्यै नछापेको प्रमाणित भइसकेको छ । आफ्नो अन्तर्वार्तामा प्रसाईंले ज्वालाको नाम नलिइकन ‘जापानमा वेश्यावृत्ति गर्ने महिला’ भनेका थिए ।
उनले भनेका छन्, ‘कोही जापानमा वेश्यावृत्ति गर्ने, कुनै पार्टीको केन्द्रीय सदस्य भएका छन् । जापानमा वेश्यावृत्ति गर्ने, केटालाई केटी मिलाइदिने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने, हामीलाई थाहा छैन ? त्यस्ता मान्छे फेसबुक स्टाटसमा लेखेर दुर्गा प्रसाईंलाई हल्लाउन खोज्छन् । उनले लामो अन्तर्वार्ता दिएका छन् ।










