बझाङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु
- भदौ ३, २०८१
- 0
बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरोले एक घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा परि बेपत्ता भएका उनीहरुको आज बिहान साढे ७ बजे शव निकालिएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा ५५ वर्षकी काली धामी, २५ वर्षकी गोल्की धामी, ६ वर्षकी आकृति धामी , र ३ वर्षकी लक्ष्मी धामी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिए।
उनीहरुको शव अहिले घटनास्थलमै रहेको र जिल्ला प्रहरी कार्यालय बझाङको टोली घटनास्थल पुगेर शव पोष्टमार्टमका लागि पठाइने तयारी छ।
उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ। पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले घरमुली ६२ वीरबहादुर धामी, १६ वर्षीया कमला धामी, वर्ष ३० को उज्जवल धामी, १० वर्षीय रोशन धामी, २० वर्षीया शान्ती धामी र पाहुना सोही नगरपालिका-९ बस्ने वर्ष ७१ को अम्बादत्त जोशीको सकुशल उद्धार गरिएको थियो। पहिरोले घर पूर्ण रुपमा बगाएको छ। उक्त घरमा रहेका ५ वटा बाख्रा पनि बगाएको प्रहरीले जनाएको छ।










