बितेका १२ घण्टामा देशभर भारी वर्षा, उपत्यका नै डुवानमा, ठूलो जनधनको क्षति, आज पनि वर्षा हुने
- रोजगारमञ्च
- साउन १६, २०८१
- 0
पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा बर्षा भएको छ । काठमाडौं उपत्यकाका खोलामा पानीको बहाव बढेपछि डुवानमा पर्दा ठूलो जनधनको क्षति पुगेको छ ।
भारी वर्षासँगै काठमाडौँका नदी खोलाको बाढीबाट जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ ।
काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौंको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, भक्तपुरको हनुमन्ते क्षेत्रमा डुबान भएको थियो ।
काठमाडौंको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।
ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट ६ जनाको उद्धार गरिएको छ ।
विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ ।










