लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले लिए शपथ, ९ सदस्यीय मन्त्रीपरिषद बिस्तार
- साउन ९, २०८१
- 0
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए।
शपथलगत्तै मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, देउखुरी पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ।
यसैबीच मुख्यमन्त्री आचार्यले मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले कांग्रेस र एमालेका गरी ८ जना सांसदलाई विना विभागीय मन्त्री बनाएका हुन् ।
नयाँ मन्त्रीहरूमा एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेका छन भने नेपाली कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री बनेका छन ।
मन्त्रालय भागबन्डामा सहमति नजुटेकोले उनीहरूको मन्त्रालय भने तोकिएको छैन । हाललाई ११ वटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई नै तोकिएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए।
प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्यलाई संविधानको धारा १६८ को उपधार २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
८७ सदस्य प्रदेशसभामा सरकार गठनको लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ। लुम्बिनी प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्।
एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री हुने चर्चाका बीच पार्टी केन्द्रले आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएपछि अन्तिम समयमा आएर आचार्यले बाजी मारेका थिए।










