संविधान अनुरुप बन्नुपर्ने कानूनहरू बनाउन सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड
- फाल्गुन १८, २०८०
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानअनुरुप बन्नुपर्ने कानूनहरू बनाउन सरकार गम्भीर भएर लागिरहेको बताएका छन् । उनले सरकारले संविधानप्रदत्त हक र अधिकारहरूको क्रमशः सुनिश्चितता गर्दै अघि बढेको दाबी गरे ।
शुक्रबार बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति सरकारले गम्भीर पहल लिइरहेको छ । संविधानप्रदत्त हकहरूको क्रमशः कार्यान्वयन हुँदै गएको अवस्था छ ।’
उनले वर्तमान सरकारले संविधानप्रदत्त स्वास्थ्यको हक र अधिकारको सुनिश्चितता गर्दै लगेको दाबी गरे ।
‘मेरो नेतृत्वको वर्तमान सरकार संविधानप्रदत्त ‘स्वास्थ्य सम्बन्धी हक’लाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको छ । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शैया गरिब, बिपन्न र असहाय नागरिकका लागि निशुल्क उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा गएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निशुल्क उपलब्ध गराउने व्यवस्था, स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, बिपन्न बिरामीहरूका लागि अनुदानको व्यवस्था लगायत महत्वपूर्ण निर्णयहरू भई कार्यान्वयनमा आएका छन् ।’
प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’को रूपमा विकास हुँदै गएको बताए । ‘भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ,’ उनले भने ।










