राष्ट्रिय सहमतिबाट नभए प्रजातान्त्रिक प्रक्रियाबाट संक्रमणकालीन न्याय टुंग्याउँछौँ : प्रधानमन्त्री प्रचण्ड
- मंसिर २४, २०८०
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबाट संक्रमणकालीन न्याय नटुंगिए प्रजातान्त्रिक प्रक्रियाबाट टुंगो लगाउने बताएका छन्।
आइतवार गम्भीर मानवअधिकार उल्लंघनका पीडितहरुको राष्ट्रिय सञ्जालद्वारा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट टुंग्याउने अन्तिम प्रयास गर्ने तर राष्ट्रिय सहमति हुन नसके बहुमतको आधारमा टुंग्याउने बताए।
उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको मध्यपहाडी लोकमार्ग यात्रा पुस पहिलो साता सकिने र त्यसपछि संसद अधिवेशन आह्वान हुने बताए। उनले अब बस्ने सदनमा पहिलो एजेण्डाको रुपमा संक्रमणकालीन न्यायलाई प्रवेश गराउने प्रतिबद्धता पनि जनाए।
‘म सरकारमात्रै होइन, शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता पनि भएकाले मेरो जिम्मेवारी छ९ यसलाई टुंग्याउने। मरिसकेकोलाई फिर्ता ल्याउनसक्ने कुरा भएन, बेपत्तालाई पनि फिर्ता ल्याउनसक्ने अवस्था छैन तर हामी बाँचेकाहरुले गर्नसक्ने कुरा जति गर्नेछौँ‚’ उनले भने, ‘एमालेको अभियान पुस पहिलो सातासम्म छ, त्यसपछि सदन बोलाउने सोचिँदै छ। अब बस्ने सदनमा पहिलो एजेण्डाको रुपमा यसलाई प्रवेश गराइन्छ। राष्ट्रिय सहमति गराउने अन्तिम प्रयास हुनेछ‚ भएन भने डेमोक्रेटिक प्रक्रियाबाट टुंग्याइन्छ।’










