गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना, स्वास्थ्य अवस्था स्थिर
- मंसिर २०, २०८०
- 0
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ ।
मंगलबार बेलुकी गंगालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको र अहिले उनको स्वास्थ्य अवस्था स्थीर रहेको गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर जनाएको छ ।
गृह मन्त्रालयका अनुसार मन्त्री श्रेष्ठको मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको हो ।
उनको मुटुको रक्तनलीमा आंशिक अवरोध र छातीमा असहज महसुस भएपछि गएराति अस्पताल भर्ना गरिएको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा डा. अरुण मास्केसहितको चिकित्सक टोलीले मन्त्री श्रेष्ठको एन्जिओप्लास्टी सर्जरी गरेको र मन्त्री श्रेष्ठ सघन उपचार कक्षमा उपचार जारी रहेको उल्लेख गरिएको छ ।
यसअघि गत कात्तिकमा चीन भ्रमणमा रहेको समयमा पनि उपप्रधानमन्त्री श्रेष्ठको मुटुमा समस्या देखिएपछि स्टेन्ट राखिएको थियो ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज बिहान सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेर प्रचण्डले श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
सो क्रममा श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका थिए ।










