प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै
- मंसिर १७, २०८०
- 0
विश्व जलवायु शिखर सम्मेलन (कोप २८) मा सहभागी हुन यूएईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै छन् ।
प्रधानमन्त्री फ्लाई दुबईको विमानमार्फत् आज साँझ ६ बजे काठमाडौं आइपुग्ने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले कोप सम्मेलनको उपलब्धिबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी जानकारी गराउने छन् ।
प्रधानमन्त्री प्रचण्ड कोप २८ सम्मेलनमा सहभागी हुने मंसिर १३ गते यूएई गएका थिए । शनिबार कोप २८ मा सम्बोधन गर्दै उनले विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान रहे पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव झेलिरहेको बताएका थिए ।
बढ्दो तापक्रमबाट हिमालमाथि अत्याचार भइरहेको र हिमालहरु बचाउन जरुरी रहेको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले यस संकटलाई सम्बोधन गर्न र न्यायका खातिर अनुदानको माग गरे । उनले हानि तथा नोक्सानी कोष अल्पविकसित र हिमाली देशका लागि अनुमानित, सरलीकृत र पर्याप्त हुनुपर्नेमा जोड दिएका थिए ।










