दुर्गा प्रसाईंको निवास वरपर प्रहरी परिचालन, घर बाहिर निस्किन ‘रोक’

news-details

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको छ।

उनलाई घरबाट बाहिर निस्किन नदिन प्रहरी टोली खटाइएको हो । नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ)को टोलीले अहिले प्रसाईंको घरलाई वरपरबाट घेरेको छ ।

निषेधित क्षेत्रमा कार्यक्रम गर्ने, सामाजिक सद्भाव भड्काउनेलगायतका क्रियाकलापमा संलग्न हुन खोजेको भन्दै स्थानीय प्रशासनले उनलाई स्थानहद(घरबाट बाहिर निस्कन रोक) लगाएको हो ।

हिजो बिहीबार बल्खुमा प्रदर्शनपछि प्रसाईंले साँझ पत्रकार सम्मेलन गर्दै आज शुक्रबारदेखि तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए ।

प्रसाईंले तीनकुने क्षेत्रसहित निषेधित क्षेत्रमा समेत प्रदर्शन गर्ने तयारी गरेपछि प्रहरीले उनलाई घरभित्र मात्रै बस्न पाउने गरी नजरबन्द गरेको हो ।

प्रसाईंको हिजोको प्रदर्शनमा उनका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो । झडपमा केही प्रदर्शनकारी र ३० जना बढी प्रहरी पनि घाइते भएका थिए । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै अश्रृग्यास र पानीको फोहोरासमेत हानेको थियो ।

यसैबीच प्रहरीले हिजोको प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा गर्ने प्रसाईंका पाँचजना कार्यकर्तालाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया