जन्मदीनको अवसरमा वृहत रक्तदान तथा स्वाथ्य परिक्षण कार्यक्रम आयोजना
- कार्तिक २४, २०८०
- 0
लायन्स क्लव अफ काठमाडौं रक्तदाता समुहका संस्थापक अध्यक्ष तथा जोन चेयर पर्सन लायन केदार प्रसाद न्यौपाने र वन्डर उमनकी उपाध्यक्ष लायन सुनेना श्रेष्ठले आफ्नो जन्मदीनको अवसर पारेर वृहत् रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेका छन् ।
लायन्स क्लव ड्रिष्ट्रिक ३२५ आई नेपालकी चिफ एड्भाईजर लायन पार्वती खरेल पाण्डेको विशेष उपस्थिति रहेको कार्यक्रम लायन्स क्लव अफ काठमाडौं रक्तदाता समुह, वन्डर उमन र नेपा कम्लेक्स मेनेज्मेन्ट तथा व्यापार संघको संयुक्त आयोजनामा सम्पन्न गरिएको थियो ।
हरेक उत्सव सामाजिक कार्य गरि मनाऔं भन्ने उद्देश्यका साथ न्यौपानेले विगत लामो समयदेखि आफ्नो जन्मदीनको अवसरमा निरन्तर रक्तदान गर्दै आएको बताएका छन् । चाडपर्वको अवसरमा र भुकम्पमा परि घाईते भएकाहरुका लागि रक्तअभाव नहोस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको उनले बताए ।
एक जनाको रगतले अन्य ३ जना व्यक्तिको जिवन जोगाउन मद्दत पुग्ने भएकाले आफूले पनि प्रत्येक ३–३ महिनामा रक्तदान गर्ने गरेको बताउँदै न्यौपानेले आजसम्म ७३ औं पटक रक्तदान गरिसकेको समेत जानकारी दिए । साथै सबैले आफ्ना उत्सवहरु सामाजिक कार्य गरेर मनाउन समेत सबैलाई आग्रह गरे ।
त्यस्तै लायन्स क्लवकी चिफ एड्भाईजर लायन पार्वती खरेल पाण्डेले जन्मदीनको अवसरमा लायन्स क्लव अफ काठमाडौं वन्डर उमन र रक्तदाता समुहले गरेको कार्यप्रति खुशी व्यक्त गरिन् । विगतमा पनि थुप्रै सामाजिक कार्यहरु गर्दै आएका यी क्लवहरुले आगामी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिन समेत आग्रह गरिन् । साथै अन्य संघसंस्थाहरुले पनि लायन्स क्लवहरुले गरेको कार्यप्रति उत्प्रेरित भई यस्ता सामाजिक कार्यहरु गर्न जरुरी रहेको बताईन् ।
कार्यक्रममा बोल्दै लायन्स क्लव अफ काठमाडौं वन्डर उमनकी संस्थापक अध्यक्ष तथा जोन चियर पर्सन लायन मेघा तिमिल्सिनाले वन्डर उमनले स्थापनाकालदेखि नै रक्तदान लगायत थुप्रै सामाजिक कार्यहरु पनि गर्दै आएको र जन्मदीनको अवसर पारेर रक्तदान कार्यक्रममा सहकार्य गरेको बताईन् ।
विशेषगरि महिला सशक्तिकरण, महिला सम्बन्धि स्वास्थ्य शिविरहरु गर्दै आएको बताउँदै जोन चियर पर्सन तिमिल्सिनाले आगामी दिनहरुमा पनि महिला स्वास्थ्य शिविरहरु, संचालन गर्ने लक्ष्य रहेको बताइन् । साथै रुकुम पश्चिम र जाजरकोटका भुकम्प पीडितहरुका लागि राहत संकलन गरि ३० हजार रुपैया रकम पठाएको समेत जानकारी दिइन् ।
वन्डर उमनकी अध्यक्ष लायन स्वरस्वती कुँवरले अहिले डेंगुका बिरामी बढ्दो संख्यामा रहेकोले उनीहरुलाई रक्तअभाव नहोस् भन्नका लागि कार्यक्रमको आयोजना गरेको बताइन् । साथै आगामी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिदै जाने समेत प्रतिवद्धता जनाईन् ।
कार्यक्रमबाट बाईक दुर्घटनामा परि उपाचाररत बिरामीलाई तत्काल रगत उपलब्ध समेत गराईएको थियो । साथै बिरामीका आफन्तले तत्काल सहज रुपमा आवश्यक रगत पाएकोमा आयोजक टिमलाई धन्यवाद दिदै आगामी दिनमा आफूहरु पनि यस्ता कार्यक्रम आयोजना गरि कसैको जीवन जोगाउने कार्यमा लाग्ने समेत प्रतिवद्धता व्यक्त गरे । त्यस्तै कार्यक्रमबाट ३८ पिन्ट रगत संकलन भएको आयोजक न्यौपानेले जानकारी दिए ।










