बाँकी कैद भुक्तानीका लागि रिगललाई तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश

अदालतको आदेशपछि पक्राउ परे रिगल ढकाल
news-details

सर्वोच्च अदालतले, योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको छ ।

बिहिबार न्यायधीश ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले रिगललाई तुरुन्त पक्राउ गरेर मिनाहा गरिएको कैद सजाय भुक्तानी गराउन आदेश दिएको हो ।

भारती मानन्धरले, आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगललाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल जिल्ला कारागार, दाङबाट छुटेका थिए ।

अदालतको आदेशपछि पक्राउ परे रिगल ढकाल

सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले रिगललाई पक्राउ गरेको एसपी सुवास बोहराले बताए ।

रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया