राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस आज नेपाल आइपुग्ने, औपचारिक भ्रमण भोलिदेखि सुरु

news-details

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको भ्रमणका लागि आज राति काठमाडौं आईपुग्दै छन ।

गुटेरस आज राति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा नेपाल आउन लागेका महासचिव गुटेरसको औपचारिक भ्रमण भोलिदेखि सुरु हुने छ ।

भोलि दिउँसो गुटेरस र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता हुने छ भने त्यस लगत्तै गुटेरसले प्रधानमन्त्री दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलसंग भेटवार्ता गर्नेछन । भोलि नै पूर्व प्रधानमन्त्रीहरुले गुटेरसलाई सामूहिक रुपमा भेट्ने कार्यक्रम पनि रहेको छ ।

भोलि नै पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरेर गुटेरस राती प्रधानमन्त्री दाहालको दिने रात्रीभोजमा सहभागी हुनेछन । आगामी सोमबार महासचिव गुटेरस जलवायु परिवर्तनको असरको जानकारी लिन सोलुखुम्बुको स्याङ्बोचे जाने छन भने सोमबार साँझ बास बस्न पोखरा जाने कार्यक्रम रहेको छ ।

मंगलबार विहान पोखराबाट अन्नपूर्ण आधार शिविरको छोटो पदयात्रामा जाने कार्यक्रम पनि रहेको छ । एबीसीबाट फर्केपछि सोही दिन पोखरा विमानस्थलमा पत्रकार सम्मेलन गरी उनी साँझ वुद्ध जन्मस्थल लुम्बिनी जाने कार्यक्रम रहेको छ ।

आगामी बुधबार लुम्बिनीबाट फर्केपछि अपरान्ह ४ बजे नेपालको संसदका दुवै सदनको संयुक्त बैठकलाई गुटेरसले सम्बोधन गर्नेछन । सरकारले महासचिव गुटेरसको भ्रमणलाई नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि सदुपयोग गर्ने तयारी गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया