आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाडौ उपत्यकामा सार्वजनिक बिदा

news-details

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा– आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।

आज इन्द्र जात्रा पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा आठ दिनसम्म मनाइन्छ ।

आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोका स्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ ।

भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि जात्रा सुरु हुन्छ । जात्रा अवधिभर विभिन्न प्रकारका विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ ।

बुधबार कुमारीको पूजा गरिएको थियो । इन्द्र जात्राको अन्तिम दिन असोज १५ गते राति ८ बजेर ३७ मिनेटको साइतमा लिङ्गो ढालेपछि जात्रा समाप्त हुन्छ ।

द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

इन्द्र जात्राको प्रचलन जयप्रकाश मल्ल राजाको पालादेखि सुरु भएको विश्वास गरिन्छ । यो ऐतिहासिक इन्द्र जात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पनि पाहुनाहरु काठमाडौं आएका छन् ।

जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०७६ सालबाट भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरुबाट पाहुना बोलाउन थालेको हो ।

इन्द्र जात्रा अवलोकनका लागि चीनको नान्जिङ्गका साथै छेन्दु र झान्झाउ नगरपालिका, सियान सिटी तथा अमेरिकाको फेडरिसवर्ग सिटीबाट पनि पाहुनाहरु काठमाडौं आएका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया