नेपाल अर्बुद रोग निवारण संस्थाको वार्षिकोत्सव : दर्जनौ संघसंस्था पुरस्कृत
- अशोज १, २०८०
- 0
नेपाल अर्बुद रोग निवारण संस्थाले ४१ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
राजधानीमा आज एक कार्यक्रम आयोजना गरी संस्थाले क्यान्सर विरुद्धको अभियानमा योगदान पुर्याएका दर्जनौ संघसंस्थाहरुलाई पुरस्कृत गरी आफ्नो वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमको प्रमुख आतिथ्यता सांसद तेजुलाल चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष महेश श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै सांसद चौधरीले सुर्तीजन्य पदार्थमा लगाइने कर वृद्धी नगरिएको प्रति असन्तुष्टी प्रकट गर्दै सरकार क्यान्सर रोग निवारणमा गम्भिर नभएको जिकिर गर्नुभयो ।
उहाँले सरकार नै सक्रिय नभएसम्म क्यान्सर रोग रोकथाम र उपचारमा गैरसरकारी संस्थाहरुको प्रयास पर्याप्त हुन नसक्ने तर्फ ध्यानकर्षण गराउनु भयो । साथै नेपाल अर्वुद रोग निवारण संस्थाले गरेको कामहरुको प्रशंसा गर्नुका साथै आगामि दिनमा पनि प्रभावकारी कार्यक्रम गरे सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष महेश श्रेष्ठले क्यान्सर रोगका कारण विकसित राष्ट्रहरुको तुलनामा विकासोन्मुख र अविकसित राष्ट्रहरुमा मृत्युदर विकराल रहेको बताउनु हुदै यसको रोकथामका लागि अब ढिला गर्न नहुने बताउनु भयो ।
भक्तपुर क्यान्सर अस्पतालको स्थापना र सफल सञ्चालन गरिसकेको प्रसंग उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले निकट भविष्यमा अन्तराष्ट्रिय स्तरको क्यान्सर डायग्नोष्टिक सेन्टर स्थापना गर्न लागेको बताउँदै अध्यक्ष श्रेष्ठले यो संस्थाले देशमा विकराल रुपमा विस्तार भईरहेको क्यान्सर रोगको रोकथामका लागि सचेतनामूलक कार्यक्रमहरुका साथै क्यान्सर रोगीहरुको उपचारात्मक कार्यका लागि सहयोग पुर्याईरहेको दावी गर्नुभयो ।
उहाँले राष्ट्रियस्तरको गैर नाफामूलक सामाजिक संस्थाका रुपमा स्थापित यस नेपाल अर्बुद रोग निवारण संस्थाले सातै प्रदेशसरकार र स्थानिय स्वास्थ्य सेवा प्रदायकहरु र पालिकाहरुको समन्वयमा जनचेतना जागरण र क्यान्सर रोगिको उपचार दुवैमा सहयोग पु¥याउँदै आएको जानकारी दिनु भएको थियो ।
त्यस्तै कार्यक्रममा नेपाल अर्वुद रोग निवारण संस्थाका महासचिव दिपेन्द्र बान्तवाले क्यान्सर सम्वन्धी काम गर्ने जेठो संस्था भएकाले अवका दिनमा क्यान्सर विरुद्धका अभियानमा लागेका सबै संघसंस्थाहरु सँग सहकार्य गरी अघि बढ्ने बताउनुभयो । महासचिव वान्तवाले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै क्यान्सर जस्तो प्राणघातक रोग विरुद्ध लड्न सबै एकजुट भए मात्र संभव हुने बताउनु भयो ।
कार्यक्रममा क्यान्सर सर्भाइबर गायिका देविका बन्दना, नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष नवराज खतिवडा, भरतपुर क्यान्सर अस्पतालका पुर्व अध्यक्ष प्रकाशराज न्यौपाने लगायतले क्यान्सर रोग नियन्त्रण र उपचारका लागि लिनुपर्ने कदमका बारेमा प्रकाश पार्नुभएको थियो ।
संस्थाको वार्षिकोत्सवको अवसरमा एक दिन अघि मात्रै क्यान्सर रोग विरुद्ध सचेतना र क्यान्सर डायग्नोष्टिक सेन्टर स्थापनार्थ कोष संकलनका लागि बृहत पदयात्राको आयोजना गरिएको थियो । कार्यक्रममा सेरो ल्याव, यतिकेम, प्रसिडेण्ट टुर्स एण्ड ट्राभल, शुभगुरु सुनचाँदी पसल, इभेण्ट सोलुसन लगायतका विभिन्न संघसंस्थाहरुलाई प्रमाणपत्र सहित सम्मान र पुरस्कृत गरिएको थियो ।










