एलसिके परोपकार र केएल टावर मल्टिकम्प्लेक्सको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
- भदौ ४, २०८०
- 0
लायन्स क्लब अफ काठमाडौं परोपकार र केएल टावर मल्टिकम्प्लेक्सको संयुक्त आयोजनामा वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
केएल टावर मल्टिकम्प्लेक्सको प्रांगणमा सम्पन्न कार्यक्रमको अध्यक्षता लायन्स क्लव अफ काठमाडौंकी अध्यक्ष लायन तुलसा गौतमको रहेको थियो भने कार्यक्रमको संयोजकत्व क्लवका सदस्य लायन प्रभुराम श्रेष्ठले गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन हरदम सहयोग गर्ने नेपाल स्वयंमसेवी रक्तदाता समाजका अध्यक्ष तथा लायन्स क्लव अफ काठमाडौं रक्तदाता समाजका चार्टर प्रेसिडेन्ट लायन केदारप्रसाद न्यौपानेले क्लवले गरेको सामाजिक कार्यको प्रशंसा व्यक्त गरे । ‘जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने सिद्धान्तलाई अघि सार्दै लायन्स क्लव अफ काठमाडौं ३२५ आइ अन्तर्गतका क्लवहरुले वर्षेनि ४ पटक रक्तदान कार्यक्रम गर्ने कार्य अघि सारेको उनले बताए ।
अहिले नेपालमा डेंगुको संक्रमण अत्याधिक वृद्धि भईरहेको र हस्पिटलहरुमा बिरामीको चाँप दिनानुदिन बढिरहेको बताउँदै अध्यक्ष न्यौपानेले रक्तदान नै जीवनदान भएकोले १८ वर्ष पुरा भएका सम्पुर्ण स्वस्थ्य व्यक्तिले रक्तदान गरेर अन्य ३ जना मानिसको जीवन जोगाउन सबैलाई आग्रह गरे ।
त्यस्तै कार्यक्रममा क्लवकी अध्यक्ष तुलसा गौतमले सामाजिक उत्तरदायित्व अन्तर्गत क्लवले स्थापनाकालदेखि नै रक्तदान तथा विभिन्न सामाजिक कार्यहरु तथा स्वास्थ्य शिविरहरु गर्दै आएको र त्यसैलाई निरन्तरता दिन रक्तदान कार्यक्रम आयोजना गरेको बताइन् ।
‘जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने स्लोगनलाई आत्मसात् गर्दै क्लवले खाद्यन्न तथा लत्ताकपडा वितरण, वृक्षरोपण, निशुल्क स्वास्थ्य शिविर लगायतका सामाजिक कार्यहरु विगतदेखि नै गर्दै आएको र आगामी दिनहरुमा पनि निरन्तर रुपमा गर्दै जाने प्रतिवद्धता अध्यक्ष गौतमको रहेको थियो ।
क्लवका सचिव नवराज पाण्डेले डेंगुजस्तो महामारी फैलिरहेको अवस्थामा रगतको अभाव नहोस् भन्नका लागि क्लवले वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको बताए ।
लायन्स क्लव अफ काठमाडौं परोपकारको २०२३–२४ को कार्यकालमा क्लवले ‘ब्लड डोनेशन विथ चक्रपथ परिक्रमा’ भन्ने स्लोगन नै बनाएर आफ्नो कार्यकालभरमा रक्तदान कार्यक्रम गर्दै चक्रपथ परिक्रमा गर्ने समेत जानकारी दिए ।
त्यस्तै कार्यक्रमका संयोजक तथा क्लवका सदस्य प्रभुराम श्रेष्ठले कार्यक्रममा रक्तदाताहरुको बाक्लो उपस्थिति रहेको बताए । उनले रगत अभाव भएर कसैले पनि अकालमै ज्यान गुमाउनु नपरोस् भन्नका लागि कार्यक्रमको आयोजना गरेको बताए 
हरेक ३–३ महिनामा खेर जाने रगतलाई रक्तदान गर्दा शरिरमा कुनै पनि समस्या नआउने बताउँदै उनले कुनै समय आफैलाई पनि रगतको आवश्यकता पर्न सक्ने भएको हुनाले सबैले आएर रक्तदान गरी कसैको जीवनदान गर्न आग्रह गरे ।
कार्यक्रमलाई सफल बनाउन लियो क्लव अफ काठमाडौं परोपकार, लियो क्लव अफ नुवाकोट परोपकार र प्रभु निर्मनसेवा एण्ड सप्लायर्स प्रा.लिको समेत विशेष भुमिका रहेको थियो । त्यस्तै कार्यक्रमबाट १०४ पिन्ट रगत संकलन भएको कार्यक्रमका संयोजक प्रभुराम श्रेष्ठले जानकारी दिए ।











