मधेश प्रदेशमा भारी वर्षाको सम्भावना : बाढी र डुबानबाट बच्न ‘अलर्ट’ जारी
- असार २०, २०८०
- 0
मधेश प्रदेश र लुम्बिनी प्रदेशलगायत तराई क्षेत्रका बाढी र डुवान समस्या हुनसक्ने भन्दै चेतावनी जारी गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले बुधवार, सूचना जारी गर्दै तराई भेगमा धेरै बर्षाको सम्भावना रहेको र होचो स्थानमा डुवानको समस्या हुनसक्ने भन्दै सचेत रहन भनेको छ ।
‘पछिल्लो ३ घण्टा सप्तरीको राजविराज र आसपास भारी वर्षा मापन भएको हुदाँ सो क्षेत्र भई बहने ससाना नदीहरू तथा डुबान भइरहने होचो स्थानहरूमा बाढीको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाऔँ।’ महाशाखाले भनेको छ ।
सप्तरीको राजविराज र आसपास भारी वर्षा भएकाले नदी छेउछाउका तथा डुबान भइरहने होचा स्थानका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिइएको छ।
देशभर पानी पर्ने सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसारका अनुसार आज दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ।
देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। दिउँसो मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको उल्लेख गरेको छ । अहिले कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले सावधानीसहित यात्रा गर्न पनि अनुरोध गरेको छ ।










