नेपाल माउण्टेन एकेडेमीका बिद्यार्थीले हिमाल आरोहण गरेर राखे विश्व कीर्तिमान
- जेष्ठ १५, २०८०
- 0
बिश्वमा पहिलो पटक नेपाल माउण्टेन एकेडेमीमा अध्ययनरत नौ जना विद्यार्थीले हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल माउण्टेन एकेडेमीद्वारा सञ्चालित पर्वतारोहण अध्ययनको दोस्रो ब्याचको आठौं सेमेस्टरका विद्यार्थीले हिमलुङ ७ हजार १ सय २६ मिटरको हिमाल सफल आरोहण गरेका हुन् । स्नातक तहका २१ विद्यार्थीहरूको आरोहणमा एकै समयमा नौ जनाले हिमाल आरोहण गरेका हुन् ।
उक्त आरोहण पिक प्रमोशन प्रालिले व्यवस्थापन गरेको थियो । त्रिभुवन विश्वविद्यालयसँग आबद्ध शैक्षिक कार्यक्रममा ७ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणसंगै अध्ययन अनुसन्धान अन्र्तगत बिद्यार्थीले हिमाल आरोहण गरेका हुन् ।
नेपाल माउन्टेन एकेडेमी एक मात्र संस्था हो जसले पर्वतारोहणलगायत पर्वतारोहणमा स्नातक र स्नातकोत्तर अध्ययन गराउने गर्दछ । नेपाल माउण्टेन एकेडेमीका अध्यक्ष वाङदी शेर्पाले बिद्यार्थीले हिमाल आरोहण गरेर अन्तराष्ट्रिय जगतमा नेपालको नाम राखेको बताए । यसअघि विद्यार्थीहरूले छैठौं सेमेस्टरमा मेरा शिखर ६ हजार ४ सय ७६ मिटर र चौथो सेमेस्टरमा चेरगुरी चुचुरो ४ हजार ९ सय ८३ मिटर सफलतापूर्वक आरोहण गरी अध्ययन गरेका थिए । पर्वतारोहण अध्ययन, साहसिक अध्ययनको मास्टर, माउण्टेन र पर्वतारोहण विज्ञानमा स्नातकोत्तर उनीहरुले हिमाल आरोहण र माउण्टेनरीङ क्षेत्रको अध्ययन अनुसंधान गर्ने गर्दछन् ।
हिमाल अरोहणकालागि तालिममा ट्रेकिङ गाईड, स्की तालिम, सम्पर्क अधिकृत तालिम, उच्च पर्वतारोहण तालिम समेत दिदै आएको छ ।
हिमाल आरोहण गरेर बिश्व कीर्तिमान गर्ने बिद्यार्थीहरुमा रोसान्त राज खत्री, सरोज लामिछाने, नविन उप्रेति, विधान भण्डारी, आशिस खड्का,सौगात अधिकारी,सरोज तामाङ, कुशल रानाभाट,विकास वटाला र प्रशिक्षकहरुमा लामबावु शेर्पा, छिरिङ जाङ्बु शेर्पा, लाक्पा राण्डु शेर्पा, फुर्वा ग्लेजेन शेर्पा, आङ गेलु शेर्पा, लाक्पा तेन्जी शेर्पा रहेको नेपाल माउण्टेन एकेडेमीले जनाएको छ ।










