विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ७० वर्ष पुरा

news-details

आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ। सरकारले भने २०६८ सालदेखि मात्रै यसलाई अन्तराष्ट्रिय दिवसको रुपमा मनाउने घोषणा गरेको हो ।

सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए। सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वषगाँठको सन्दर्भमा आज विभिन्न कार्यक्रम भइहरेका छन् ।

नेपाल सरकार पर्यटन मन्त्रालय, नेपाल पर्वतारोहण सङ्घ एनएमएलगायत पर्यटन तथा पर्वतारोहणसंग सम्बन्धित संघसंस्थाले आज विहानैदेखि विभिन्न कार्यक्रम गरिरहेका छन् ।

आज बिहान ठमेलबाट प्रभातफेरी आयोजना गरिएको छ भने नेपाल पर्यटन बोर्डमा औपचारिक समारोह आयोजना गरिएको छ । ठमेलस्थित कर्मचारी सञ्चयकोषबाट प्रख्यात आरोही तथा पर्यटन व्यवसायी एवं सरकारी निकायका प्रतिनिधिहरू सहभागी प्रभावतफेरी भृकुटीमण्डपस्थित बोर्डको हालमा आएर सभामा परिणत भएको थियो। कार्यक्रममा कीर्तिमान आरोही तथा विभिन्न आरोहीलाई पदक प्रदान गरिने कार्यक्रम छ।

त्यस्तै सोलुखुम्बुको खुम्जुङमा हुने विशेष कार्यक्रममा तेञ्जिन शेर्पा र हिलारीका परिवारलाई सम्मान गर्ने कार्यक्रम छ ।

यसपटक कामीरिता शेर्पाले २८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका छन्। उनले वसन्त ऋतुको जारी आरोहणमा सगरमाथाको दुईपटक क्रमशः जेठ ३ गते र जेठ ९ गते सगरमाथाको चुचुरोमा पुगेर आफ्नै कीर्तिमान तोडेका हुन्। यस्तै पासाङ दावा शेर्पाले यही याममा सगरमाथाको २७ पटक आरोहण गरी कीर्तिमान कायम गरेका छन्।

दुवै खुट्टा नभएका हरि बुढामगरले यसै सिजनमा सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन्।

पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा हालसम्म छ सय बढीले सगरमाथाको आरोहण गरेका छन्। यस वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेबाट सुरु भएको थियो। यो यामको सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ।

विभागको पर्वतारोहण शाखाको विवरणमा ४७ आरोही समूहका एक सय तीन महिला र तीन सय ७६ पुरुष गरी कुल चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन्।

दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन मे २९ तारिखको स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरेको छ। नेपालमा गणतन्त्र दिवस र सगरमाथा दिवस एकै दिन परेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया