प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझायो नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन
- जेष्ठ ८, २०८०
- 0
प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले भर्खरै काठमाडौं जिल्ला प्रहरी कार्यालयबाट प्रतिवेदन प्राप्त भएको र अध्ययन सुरू भएको जानकारी दिएको छ ।
प्रहरीले ३२ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गर्न राय दिएको छ । त्यसमा १६ जना पक्राउ परिसकेका छन् भने १६ जना फरार छन् । जिल्ला सरकारी वकिल कार्यालयले बुधबारसम्म जिल्ला अदालतमा अभियोग पत्र दायर गरिसक्नुपर्नेछ ।
सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र तयार गर्नेछ ।
सरकारी वकिल कार्यालयले क-कसलाई के के मुद्दा लगाउने भन्ने अन्तिम निर्णय गर्ने छ । यसमा प्रहरीले पक्राउ गरेकाहरूलाई प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउन निर्णय गर्न सक्ने अधिकार पनि सरकारो वकिलसँग रहन्छ ।
अनुसन्धानको क्रममा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई प्रहरीले हिरासतमा राखेको छ ।
यसैगरी केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि प्रहरी हिरासतमा छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरज लगायत भने फरार छन् ।










