निरा हत्याको अभियोगमा पक्राउ परेका विक सार्वजनिक
- बैशाख १७, २०८०
- 0
कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्या गरेको अभियोगमा पक्राउ परेका विनोद विकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको देखिएको बताए ।
हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट विनोद बिकलाई शनिबार पक्राउ गरेको थियो । उनलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । ७ वैशाखमा निराको हत्यापछि उनले निराले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको ११-१२ हजार रुपैयाँ लुटपाट गरेको आचार्यले जानकारी दिए ।
बिकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।
करिब १३ वर्षदेखि भाँडा पसल सञ्चालन गर्ने निराको वैशाख ७ मा पसलमै हत्या भएको थियो ।
वैशाख ७ मा सामान किनेको पैसा बुझाउन जाँदा एकजना महिलाले काउन्टरमा ३५ वर्षीया निरा रगतपच्छे भएर ढलेको देखेपछि परिवारलाई खबर गरेकी थिइन् । उनको शरीरको २० ठाउँमा चक्कुले हानेर हत्या गरिएको थियो ।
हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टिमले अनुसन्धान गरिरहेको गरेको थियो ।
निराले चलाएको ‘निरु किचेन’ बाट करिब ३ सय मिटर पर उनका पति योगेन्द्र आचार्यले इलेक्ट्रिक सामाग्री पसल चलाएका छन् । योगेन्द्र र निराकी १० वर्षीया छोरी छिन् ।










