‘सानोतिनो धक्काले जोखिम आउँदैन, नेपालमा बैङ्कको अवस्था सुरक्षित छ’ : गभर्नर अधिकारी

news-details

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैङ्कको अवस्था सुरक्षित रहेको बताएका छन । मंगलबार नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७९र८० को आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन ।

उनले नेपालका बैङ्क वित्तीय संस्थाको अवस्था सुरक्षित र स्वस्थ रहेको दाबी गरे । उनले तत्काल सानोतिनो धक्काले नेपालका बैङ्क तथा वित्तीय संस्थामा जोखिम नआउने बताए । उनले सबै वित्तीय संस्थाको तथ्याङ्क बलियो रहेको बताए । उनले बैङ्क तथा वित्तीय संस्थामा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको बताए । उनले पछिल्लो समय बैङ्कहरूमा तरलता सहज हुँदै आएको बताए ।

उनले विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भुक्तानी कारोबारको लागि गरिएको सचेतना अभिवृद्धि, प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगले विद्युतीय भुक्तानी बढेको बताए। उनले बैङ्क तथा वित्तीय संस्था सुरक्षित बन्नुमा राष्ट्र बैङ्कको मजबुत नीति भएको दाबी गरे । उनले अर्थतन्त्रमा आगामी दिनमा सुधार हुने बताए । उनले बैङ्क र व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे।

उनले भने,‘‘बैङ्क तथा वित्तीय संस्था तरलताको अभावको कारणले बच्नको लागि सहयोग पुगेको अवस्था छ। विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भुक्तानी कारोबारको लागि गरिएको सचेतना अभिवृद्धि, प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगको बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी बढेको अवस्था छ । यसरी समग्रमा बैङ्क तथा वित्तीय संस्थाको सुरक्षाको सन्दर्भमा नेपालका वित्तीय संस्था र वित्तीय क्षेत्र सुरक्षित छ । सानोतिनो धक्काले कतै अप्ठ्यारो पर्ने अवस्था देख्दैनौँ । राष्ट्र बैङ्कको नीति प्रयोगको कारण यो अवस्था आएको छ । अर्थतन्त्रको वास्तविक क्षेत्रमा आएको कमजोरी समेतलाई हेर्दा हामी अहिलेको अवस्थाले आगामी दिनमा क्रमशः सुधार हुँदै जानेछ भन्ने अपेक्षा छ । यसको लागि उद्योगी व्यवसायी र बैंकर्स उच्च मनोबलका साथ आफ्नो क्षेत्रमा अघि बढ्नुहुनेछ ।’’

सुविधाजनक अवस्थामा विदेशी विनियम सञ्चिति

गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको उल्लेख गरे । उनले फागुनदेखि कर्जाको ब्याजदरस्थिर भए पनि बेसरेट घट्दो दरमा रहेको भन्दै ब्याजदर केही माथि रहेको बताए । उनले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थमामा पुगेको र मुद्रास्फीति घट्दो क्रममा रहेको बताए । उनले पुँजी पर्याप्तता नियामकीय व्यवस्था भन्दा माथि रहेको र निस्क्रिय कर्जा केही बढे पनि धेरैमाथि नपुगेको बताए ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार पछिल्लो चार महिनामा निरन्तर रुपमा १ खर्ब अर्ब रुपियाँ भन्दा बढी रेमिट्यान्स भित्रिरहेको अवस्था देखिएको छ । चालु आर्थिक वर्षको औषत रेमिट्यान्स ९९ अर्बप्रति महिना भित्रिएको छ । यता सरकारको चालु खाता घाटामा सुधार भएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन मसान्तसम्म चालु खाता ४४ अर्ब ३१ करोडले घाटामा छ । अघिल्लो वर्षको ८ महिनामा ४ सय ६० अर्बले ऋणात्मक रहेको चालु खाता घाटामा उल्लेख्य सुधार भएको हो ।

त्यस्तै विदेशी विनिमय सञ्चिति पनि सुविधाजनक अवस्थामा देखिएको छ। गत असार मसान्तमा १२ सय १५ अर्बको सञ्चिति रहेकोमा अहिले १४०१ अर्ब सञ्चिति रहेको छ । फागुन मसान्तसम्म शोधनान्तर स्थिति (नेपालबाट बाहिरिने र भित्रीले विदेशी मुद्राको अन्तर) १ खर्ब ४८ अर्ब रुपैयाँले बचतमा गएको छ ।

माघ मसान्तसम्म १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले वचतमा रहेको शोधनान्तर स्थिति १५ अर्बले सुधार भएको हो । गत वर्ष फागुन मसान्तसम्म शोधानान्तर स्थिति दुई खर्ब रुपैयाँले घाटामा थियो । असोज यता शोधनान्तर स्थिति निरन्तर बचतमा छ ।

चालु आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्स आप्रवाह १४.८ प्रतिशतले बढ्नुको साथै आयात २० प्रतिशतले घटेपछि शोधनान्तर स्थिति बचतमा गएको हो । वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने पैसा बढेको छ । माघमा ५ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालु आर्थिक वर्षको फागुनमा मुद्रास्फीति ७.४४ प्रतिशत कायम भएको हो । माघ मसान्तसम्म महंगी ७.८८ प्रतिशत थियो। गत वर्षको तुलनामा भने महंगी बढेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया