राष्ट्रिय व्यापार संघद्धारा रक्तदान तथा नयाँ वर्षको शुभकामना आदानप्रदान
- चैत्र २७, २०७९
- 0
साना तथा मझौला व्यवसायीहरुको छाता संगठन राष्ट्रिय व्यापार संघले खुल्ला रक्तदान कार्यक्रम र नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै पात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
ओम साई नाग लक्ष्मी बहुउद्देशीय सहकारी संस्था लिमिटेडको सह–आयोजनामा काठमाडौंको न्युरोडस्थित फसिकेव मार्गमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता काठमाडौं महानगरपालिका वडा नं. २२ का वडाअध्यक्ष चिनकाजी महर्जनले गरेका थिए भने कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष सरोजकुमार श्रेष्ठको रहेको थियो ।
नयाँ वर्षको शुभकामना दिदै वडाध्यक्ष चिनकाजी महर्जनले संघले गरेको सामाजिक कार्यको प्रसंसा व्यक्त गर्नुभयो । साथै आगामी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तता दिदै जान आग्रह गर्दै उहाँले आफूले भरपुर साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थाले वर्षेनी २ पटक रक्तदान कार्यक्रम गर्दै आएको र त्यसैलाई निरन्तरता दिनका लागि कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।
व्यापार संघले व्यवसायीहरुका पीरमर्काहरुलाई संबोधन गर्दै अन्य विविध सामाजिक कार्यहरु पनि गर्दै आईरहेको बताउँदै अध्यक्ष श्रेष्ठले आगामी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै ओम साई नाग लक्ष्मी बहुउद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष काशिनाथ पन्तले नयाँ वर्षको शुभकामना दिदै राष्ट्रिय व्यापार संघसँग सहकार्य गरेर सामाजिक कार्यमा जोडिन पाएकोमा संघप्रति आभार प्रकट गर्नुभयो ।
उहाँले आगामी दिनहरुमा पनि संघसँग सहकार्य गरि यस्ता विभिन्न सामाजिक कार्यहरुमा जोडिदै जाने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा ३८ पिन्ट रगत संकलन गरिएको थियो ।
व्यापारी व्यवसायीहरुको हकहितको लागि स्थापना भएको संस्था स्थापनाकालदेखि नै सामाजिक कार्यलाई पनि सँगसँगै लिएर अघि बढिरहेको छ । बाढीपहिरो, भुकम्प, कोरोना महामारीका समयमा खाद्यन्न तथा आर्थिक सहयोग लगायत अनाथ अपांग बालबालिकाहरुलाई निशुल्क शिक्षा प्रदान गर्दै आईरहेको छ र आगामी दिनहरुमा यस्ता कार्यहरुलाई निरन्तरता दिदै जाने प्रतिबद्धता संघले जनाएको छ ।











